काठमाडौं, ११ साउन । नेपालमा अनलाइन भुक्तानीलाई सजिलो र विश्वसनीय बनाउन दूरसंचार सेवा प्रदायक संस्थाको भूमिका महत्वपूर्ण हुने बिज्ञहरुले बताएका छन् ।
अन्तरदेशीय भुक्तानी र आन्तरिक कारोबारमा अनलाइन कारोबारको प्रयोग कसरी बढाउने भन्ने बारे काठमाडौँमा भएको एक कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन् । पछिल्लो समय पैशाको कारोबारलाई कागजरहित बनाउने र प्रविधिको माध्यमले सघन र विश्वसनीय सेवा कसरी दिन सकिन्छ भन्ने बारे छलफल हुँदै आएको छ ।
राष्ट्रिय बैङ्किंग प्रतिष्ठानले काठमाडौंमा अन्तराष्ट्रिय स्तरका विज्ञहरुसँग छलफल समेत गरेको छ । छलफलमा नेपालका दुरसंचार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले मोबाइल पेमेन्ट र अनलाईन पेमेन्ट गेटवे हुन सके सेवा छिटो र सर्वसुलभ हुने बताएको छ ।
कार्यक्रममा राष्ट्रिय बेन्किंग प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले विश्वमा धेरै अगाडी प्रचलनमा आएको मोबाइल पेमेन्ट र अनलाइन पेमेन्टको सेवा भर्खरै सुरु भएकोले अन्यत्रको अनुभवले जोखिम कम गर्न सहयोग पुग्ने हुदा बढी भन्दा बढी छलफल गर्नु परेको बताए ।
मोबाइल पेमेन्टमा ग्राहकले मोवाइलमा रकम जम्मा गरेर वा त्यही भएको रकमबाट पैसा सरह कै कारोबार गर्न पाउने व्यवस्था गरिन्छ । त्यसैगरी अनलाइन पेमेन्टमा भने हामी अभ्यस्त हुदै गएका छौ । बैंकले अहिले अन्तर बैंक कारोबार र ग्राहक संगको कारोबार विभिन्न ब्यवसायको भुक्तानी कर संकलन यसै प्रणालीमा भैरहेका छन् ।
हामीले बैकबाट बिजुली, पानी, टेलिफोनको बील बैकबाट तिर्छौ भने त्यो अनलाइन पेमेन्ट हो । गएको जेष्ठमा नेपाल राष्ट्र बैंकले ३ वटा कम्पनीलाई अनलाइन मोबाइल पेमेन्ट सिस्टमको लाइसेन्स दिएको छ । यसरी अनलाइन मोबाइल पेमेन्ट सिस्टमबाट कारोबार गर्न प्रभु टेक्नोलोजी, आईएमई डिजिटल सोलुसन र ई–सेवाले लाइसेन्स पाएका हुन् ।
प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार ०७:४५