शनिबार, मंसिर १८, २०७८

 सुदूरपश्चिममा कर्मचारी चुनावमा युनियनको वर्चस्व

२० जेष्ठ २०७३, बिहीबार ०९:३३

far west regionबैतडी, २० जेठ ।

बुधबार सम्पन्न निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सुदूरपश्चिमका जिल्लामा नेपाल निजामती कर्मचारी युनियन सङ्घको वर्चस्व देखिएको छ ।
सुदूरपश्चिमका नौ जिल्लामा ६ जिल्लामा युनियन र तीन जिल्लामा नेपाल निजामती कर्मचारी सङ्गठन विजयी भएको छ । प्राप्त नतिजाअनुसार बैतडी, बझाङ र बाजुरामा सङ्गठन तथा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा, अछाम र दार्चुलामा युनियन विजयी भएको हो ।
बैतडीमा नेपाल निजामती कर्मचारी युनियन सङ्घलाई तीन मतले पराजित गर्दै नेपाल निजामती कर्मचारी सङ्गठन विजयी भएको हो । सङ्गठनले १३६ मत प्राप्त गरेको छ भने युनियनले १३३ मत प्राप्त गरेको छ । राष्ट्रिय कर्मचारी सङ्गठनले भने ८३ मत ल्याएको थियो । १९ मत बदर गएको निर्वाचन समितिको कार्यालयले जनाएको छ । निर्वाचनमा ४७७ जना मतदातामध्ये ३६४ मत मात्र खसेको निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिवक्ता धर्मराज जोशीले जानकारी दिए ।
दार्चुलामा आधिकारिक ट्रेड युनियनको बुधबार सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले तीन मतको अग्रताका साथ नतिजा आफ्नो पक्षमा पारेको छ । जम्मा ४२२ मतदाता कर्मचारीमध्ये ३८३ जनाले आफ्नो मतदान गरेका थिए । खसेको मध्ये १५६ मत आफ्नो पक्षमा पार्दै सङ्घले दार्चुलाबाट सङ्घलाई अग्रता दिनुका साथै जिल्लाको अध्यक्ष र कोषाध्यक्ष पद पनि हात पारेको छ ।
निर्वाचनमा सङ्घलाई निक्कै चुनौती दिने नेपाल निजामती कर्मचारी सङ्गठनको पक्षमा भने १५३ मत मात्रै देखियो जसले एमाले निकट सङ्गठनलाई दोस्रो स्थान तथा उपाध्यक्षमा चित्त बुझाउनुपर्ने अवस्था आएको छ । जिल्लामा तेस्रो सङ्गठनका रुपमा नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी सङ्गठन निजामती भने तेस्रो नम्बरमा परेको छ । जम्मा ५३ मत मात्रै प्राप्त गरेको सङ्गठनले जिल्लामा सचिव पदमा चित्त बुझाउनुपर्‍योे ।
त्यसैगरी, जिल्लाबाट स्वतन्त्र कर्मचारी केन्द्रले एक र मधेस कर्मचारी युनियनले एक मत मात्रै प्राप्त गरेका छन् । निर्वाचनमा १९ मत बदर भएको थियो ।
डडेल्धुरामा ३२० जना कर्मचारीले मतदान गरेकामा सङघले १७३ मत ल्याएको छ । एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनले भने ९१ मत ल्याएको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती)ले ३७ मत ल्याएको छ भने नेपाल मधेसी निजामती कर्मचारी मञ्चले तीन मत ल्याएको निर्वाचन अधिकृत बद्रीप्रसाद नेपालले जानकारी दिए ।
बझाङमा ट्रेड युनियनको निर्वाचनमा कर्मचारी सङ्गठनले १६६ मत ल्याएर विजयी भएको हो । यसका साथै कर्मचारी युनियनले ११७ मत र राष्ट्रिय कर्मचारी सङ्गठन २५ मत र मधेसी कर्मचारी सङ्गठनले तीन मत ल्याएको थियो । तीन वटा सङ्गठनबीच भएको चुनावमा ५० मतले कर्मचारी सङ्गठनले विजयी भएको हो । ३५० कर्मचारी मतदाता सङ्ख्या रहेको बझाङ जिल्लामा ३२६ मत खसेका र १५ मत बदर भएको निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले बताए । ११ जना कार्य समिति रहने आधिकारिक ट्रेड युनियनमा विजयी भएको सङ्गठनबाट शेरबहादुर विष्ट अध्यक्षमा सिफारिस गरिने बताइएको छ ।
डोटीमा कर्मचारी युनियनले कुल खसेको मतभन्दा ५३.६ प्रतिशत अर्थात् २५५ मत ल्याएर पहिलो भएको हो ।
यस्तै, मतगणनाको परीणामअनुसार निजामती कर्मचारी सङ्गठनले ३६.८ प्रतिशत अर्थात् १७५ मत ल्याएर दोस्रो स्थान हासिल गरेको छ । माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन भने ६.७ प्रतिशत अर्थात् ३६ मत ल्याएर तेस्रो भएको छ । निर्वाचनमा भाग लिएको नेपाल मधेसी निजामती कर्मचारी मञ्चले १२ अर्थात् २.५ प्रतिशत मत पाएर चौथो भएको छ भने राष्ट्रिय कर्मचारी सङ्गठनले एक मत पाएर पाचौँ स्थान हासिल गरेको छ ।
अछाममा नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) विजयी भएको छ । बुधबार भएको मतदानमा सङ्घ ४५ मतले विजयी भएको छ । सङ्घले १८४, नेपाल निजामती कर्मचारी सङ्गठन १४२, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले ४०, मधेसी कर्मचारी मञ्चले १२ मत ल्याएका छन भने ११ मत बदर भएका छन् ।
बाजुरामा निजामती कर्मचारी सङ्गठन विजयी भएको छ । सङ्गठनले १५० मत प्राप्त गरेको छ भने युनियनले ११४ मत प्राप्त गरेको छ । राष्ट्रिय कर्मचारी सङ्गठनले भने १३ मत ल्याएको थियो ।
कञ्चनपुरमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा काँग्रेस निकट कर्मचारी युनियन विजयी भएको छ । जिल्ला निर्वाचन अधिकृत खेमराज ओझाले दिनुभएको जानकारीअनुसार युनियनले ३०६, निजामती कर्मचारी सङ्गठनले २९८, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले ११७, नेपाल मधेसी निजामती कर्मचारी मञ्चले १९ र कर्मचारी मिलन केन्द्रले तीन मत ल्याएका हुन् । सबैभन्दा बढी मत ल्याई अग्रस्थानमा रहेको युनियनले अब आधिकारिक कर्मचारीको ट्रेड  युनियनको नेतृत्व लिनेछ । कुल ८०४ मतमध्ये ७५१ मत खसेका थिए भने आठ मत बदर भएका थिए ।
कैलालीमा एक हजार ५७ जना मतदातामध्ये ९६४ जनाले मतदान गरेका थिए । कैलालीको नतिजाअनुसार काँग्रेस निकट युनियन सङ्घ ३९९ मत ल्याएर विजयी भएको छ ।
यस्तै, नेपाल निजामती कर्मचारी सङ्गठनले ३५६ मत ल्याएर दोस्रो भएको छ भने माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी सङ्गठनले ८५ मत ल्याएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share