बिहिबार, माघ ६, २०७८

स्वास्थ्य बिमाले प्लास्टिक सर्जरीलाई नसमेट्ने

९ असार २०७३, बिहीबार १९:४१

काठमाडौँ, ९ असार । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमले प्लास्टिक सर्जरी, महँगो चस्माको खरिद, सुन्न सहयोग गर्ने मेसिन, झगडा गरी घाइते भएकालाई सेवा प्रदान नगर्ने व्यवस्था गरेको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले स्वास्थ्य बिमाले ठूला रोग लाग्ने सम्भावनालाई हटाउने भए पनि माथि उल्लेख भएका विषयलाई सहयोग नगर्ने बताए । उनले  भने, “स्वास्थ्य बिमाले ५०० भन्दा बढी मूल्यका चस्माको पैसा तिर्दैन । दाँत भर्ने, दाँतमा तार हाल्ने, सेक्स तथा कस्मेटिक सर्जरी तथा इम्प्लान्ट पनि बीमाको सहुलियतमा पर्दैन ।”
सरकारले स्वास्थ्यलाई सबै जनताको पहुँचमा पुऱ्याउन गत चैत महिनादेखि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य बिमामा सहभागीले बिमा फारम भर्दा नै कहाँ उपचार गराउने हो ? त्यो स्वास्थ्य संस्थाको नाम उल्लेख गर्नुपर्छ । त्यसैअनुसार स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल हुँदै केन्द्रीय अस्पतालसम्म उपचार गराउन पाउने व्यवस्था गरिएको छ ।
कार्यकारी निर्देशक डा लोहनीले पहिलो बिन्दु प्राथमिक स्वास्थ्य केन्द्र तोकेको र त्यहाँबाट नहुने भएमा मात्रै त्यसमाथिका अस्पतालमा गई सेवा लिन पाउने बताए । “एकैपटक माथिल्लो स्तरको अस्पतालमा गयो भने त्यसमा पाउने सहुलियतमा कटौती हुनेछ”–उनले भने ।
स्वास्थ्य बिमामा सहभागी हुने व्यक्तिले वार्षिक रु ५० हजारसम्मको उपचार गर्न पाउने व्यवस्था सरकारले गरेको छ । पाँच जना सदस्य भएका परिवारले बिमाका लागि सदस्य फारम भर्दा वार्षिक रु दुई हजार ५०० प्रिमियम तिर्नुपर्छ । पाँचभन्दा बढी परिवारका सदस्य छन् भने प्रतिसदस्य रु ४५० रुपैयाँ थप तिर्नुपर्छ र उसको परिवारले थप १० हजार बढी रकम बराबरको उपचार सहुलियत पाँउछ । यो रकम प्रायः सबैखाले रोगको उपचारमा प्रयोग हुन्छ । तर, सरकारले पहिले नै निःशुल्क गरेको रोगको उपचार भने यथावत् रहने बताइएको छ ।
कैलालीमा चैत महिनाभर दर्ता भएका ४०० घर धुरीका दुई हजारको उपचार गत जेठ १ देखिनै बिमा सुरु गरिएको डा लोहनीले बताए । उनले भने “सदस्य बनिसक्नु भएकामध्ये दुई जनाले वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जबाट रु ५० हजार बराबरको सेवा पनि पाइसक्नुभएको छ ।”
बिमा कार्यक्रम पछि लागू भएका बागलुङ र इलाममा पनि असार १५ बाट सदस्यता बनाउन सुरु गरिने र भदौबाट उपचार सुविधा प्राप्त गर्ने बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share