बिहिबार, माघ १३, २०७८

स्वच्छ र समृद्ध राष्ट्रका लागि खेलकुदको भूमिका महत्वपूर्णः राष्ट्रपति भण्डारी

१९ जेष्ठ २०७३, बुधबार १२:५५

bidhyaकाठमाडौँ, १९ जेठ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वस्थ्य र समृद्ध राष्ट्र निर्माणका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएकी छन् । आठौँ राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता–२०७२ को आज दशरथ रङ्गशालामा उद्घाटन गर्दै उनले अनुशासित र मर्यादित समाज निर्माण गरी राष्ट्रलाई एकताको सूत्रमा बाँध्न खेल जगत् सहयोगी हुने उल्लेख गरिन् । 

राष्ट्रपति भण्डारीले नेपालको खेलकुद क्षेत्रले छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको सफलताले खेलकुदमा अझै प्रभावकारी काम गर्नसके यसले चाँडो सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन् । “विगतका सफलतालाई ध्यानमा राखी खेलकुद क्षेत्रमा अझ दृढताका साथ लाग्ने हो भने केही वर्षभित्र ठूलो फड्को मार्ने देखिन्छ । खेलकुदको विकासमा सरकार, खेलाडी, प्रशिक्षक तथा खेलसम्बन्धी सङ्घ संस्था समन्वय र साझेदारीका साथ अघि बढ्न सबैको ध्यानाकर्षण गराउँछु,”–उनले भनिन् ।
युवा देशको भविष्य भएकाले तिनको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदमा बढीभन्दा बढी संलग्न गराउनुपर्नेमा उनको जोड थियो । राष्ट्रपति भण्डारीले खेलकुदलाई विद्यालयस्तरमै अतिरिक्त क्रियाकलापको रुपमा प्रथामिकता दिई त्यसअनुरुपको आवश्यक नीतिगत व्यवस्था गर्न तथा खेल क्षेत्रमा लागेकालाई प्रोत्साहन र रोजगारीको अवस्था सिर्जना गर्न राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याइन् ।
उनले भनिन्, “खेलकुदबाट विमुख हुने वातावरणलाई रोक्न राज्यले प्रोत्साहन र प्रवद्र्धनका कार्यक्रम ल्याउनुपर्छ । परम्परागत खेललाई परिस्कृत गरी अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न तथा अघिल्लो वर्ष भूकम्पले क्षति पुगेका खेलकुदका पूर्वाधारको पुनःसंरचना र नयाँ निर्माणलाई जोड दिन जरुरी छ ।”
राष्ट्रपतिले मुलुकको खेल पर्यटनको प्रशस्त सम्भावनालाई मध्यनजर गर्दै अर्थतन्त्रलाई सुदृढ पार्न खेलकुद क्षेत्रलाई सिर्जनात्मक ढङ्गले अघि बढाउन जरुरी भएको खाँचो पनि औँल्याइन् ।  समारोहमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकलाई सुशासन, मर्यादित र समृद्ध बनाउन खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै समग्र खेलकुद क्षेत्रको विकासका लागि सरकार लागिपरेको उल्लेख गरिन् ।
“संविधान जारीपश्चात् मुलुक स्थायी शान्ति, राजनीतिक स्थिरता, विकास र सुशासनको नयाँ युगमा प्रवेश गरेको छ । संविधानको सफल कार्यान्वयनका लागि सबै एक ठाउँमा उभिन जरुरी छ, खेलको माध्यमबाट देशको इज्जत र प्रतिष्ठालाई माथि उकास्न विद्यालय तहदेखि नै प्राथमिकता दिन सरकार लागिपरेको छ,”–उनले भनिन् ।  युवा तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले राष्ट्रको समृद्धिका लागि भूमिका खेल्ने खेलकुद क्षेत्रको विकासका लागि क्रियाशील रहेको बताइन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकुद प्रतियोगितापछि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सबैभन्दा ठूलो गौरवपूर्ण प्रतियोगिता हो भन्दै आधारभूत तहमा खेल र खेलाडीको विकास गर्न प्रतियोगिता सान्दर्भिक हुने बताइन् । त्यस अवसरमा सशस्त्र प्रहरी बलको सांस्कृतिक प्रस्तुति तथा तेक्वान्दोका खेलाडीले खेल प्रदर्शन गर्नुका साथै एथलेटिक्स खेलको छात्रातर्फको एकहजार ५०० मिटर दौड प्रतियोगिताको राष्ट्रपतिले अवलोकन समेत गरेकी थिइन् । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको तीनदिने प्रतियोगितामा देशका पाँच विकास क्षेत्रका खेलाडी तथा प्रशिक्षकसहित ५४९ जनाको सहभागिता रहेको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित उक्त प्रतियोगितामा तेक्वान्दो, उसु, कराते, एथलेटिक्स, फुटबल, भलिबललगायत आठ खेल समावेश हुनेछन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share