स्पाइनल इन्जुरीका छ सय १६ को उपचार
२ असार २०७३, बिहीबार १३:००चितवन, २ असार । चितवन स्पाइनल इन्जुरी केन्द्रले गत चार वर्षको अवधिमा केन्द्रबाट छ सय १६ जनाको उपचार गरेको छ । मेरुदण्ड भाँचिएर उपचार गर्नुपर्ने घाइतेका लागि भरतपुर अस्पताल परिसरमा २०६९ साल असार १ गते स्थापना गरिएको सो केन्द्रले हालसम्म भारतका एक जना र नेपालका २९ जिल्लाका घाइतेको उपचार गरेको जनाएको छ ।
केन्द्रका प्रमुख डा सुदीप पौडेलका अनुसार केन्द्रमा उपचारका लागि आएका मध्ये सबैभन्दा बढी नशा च्याप्पिएका एक सय ९९ जना छन् भने तल्लो मेरुदण्डका एक सय २९, माथिल्लो मेरुदण्डका एक सय चार, गर्धनको आडको मेरुदण्डका ४८, ढाडको क्षयरोग भएका २७ र अन्य समस्या भई आएका एक सय नौ जना रहेका छन् । उनीहरुमध्ये सबैभन्दा बढी चितवनका तीन सय ६४, नवलपरासीका ८७, लम्जुङका ८०, गोर्खाका ४३ र मकवानपुरका ३५ जना रहेको उनले बताए । अन्य जिल्लाका घाइतेको सङ्ख्या भने कम छ ।
घाइतेहरु १६ महिनासम्म केन्द्रमा बसेर उपचार गराएको उनले बताए । भरतपुर अस्पताल विकास समिति, जिल्लामा रहेका रोटरी क्लब र साँगामा रहेको स्पाइनल इन्जुरी केन्द्रको सहयोगमा यहाँ स्पाइनल केन्द्र स्थापना गरिएको हो । पाँच श्ययाबाट सुरु गरिएको केन्द्रमा हाल १२ श्यया सञ्चालनमा रहेको छ । केन्द्रका संयोजक डा कृष्णप्रसाद पौडेलका अनुसार काठमाडौँपछि पोखरा र चितवनमा मात्र स्पाइनल भएका बिरामीको उपचार हुने भएकाले यहाँ बिरामीको चाप धेरै रहेको छ ।
गत वर्षको भूकम्पमा परी घाइते भएकाहरुलाई केन्द्रले निःशुल्क रुपमा उपचार गरेको थियो । ढाड भाँच्चिएका घाइतेहरुको जीवन निकै पीडादायक हुने हुँदा यसको सहयोगका लागि रोटरियनहरु जुटेका छन् । रासस