शुक्रबार, कार्तिक ५, २०७८

स्थानीयवासीको लगानीमा कुश्माबजारमा सौर्य सडक बत्ती

३१ भाद्र २०७३, शुक्रबार १४:४७

फलेवास (पर्वत), ३१ भदौ । पर्वत सदरमुकाम कुश्माबजारमा बढ्दै गएको चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्नका लागि सौर्य बत्ती जडान गरिएको छ ।

solar-lightबजारवासीको सहकार्यमा बजारका चोकचोकमा सौर्य बत्ती जडान गरिएको हो । विद्युत्भार कटौतीका बेला पनि सडकमा पैदलयात्रा गर्नेलाई सहज र चोरी डकैतीका घटना नहोउन् भन्ने उद्देश्यले कुश्मा नगरपालिकाको कार्यालय र कुश्मा बजारका बासिन्दाको संयुक्त लगानीमा सडक वत्ती जडान गरिएको छ ।

सौर्य बत्ती जडान भएपछि विद्युत्भार कटौतीका बेला पनि उज्यालो हुने भएको छ । बजारवासीको १५ प्रतिशत र नगरपालिकाको ८५ प्रतिशतको लागतमा पहिलो चरणमा बजारका २० स्थानमा बत्ती जडान गरिएको हो ।

एक स्थानमा सौर्य बत्ती जडान गर्नका लागि रु एक लाख लागत लागेको छ । एउटा बत्तीले ३० मिटर वरपर उज्यालो दिने बताइएको छ । कुश्माबजारको पुरानोबजारदेखि लोकतान्त्रिक चोक, मैत्री चोक, शिवालय चोक, प्रगति चोकलगायतका क्षेत्रमा बत्ती विस्तार गरिएको कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेलले जानकारी दिए ।

स्थानीयवासीको सहभागिता गराउँदा उक्त सौर्य बत्तीको रेखदेख पनि हुने र दिगो रुपमा सञ्चालन हुने भएकाले स्थानीयवासीको सहभागिता गराइएको हो ।

बजारवासीले घरधुरीअनुसार आ–आफ्नो टोलमा बत्ती जडान गर्न न्यूनतम रु एक हजारदेखि रु दुई हजारसम्म तिरेको कार्यकारी अधिकृत पौडेलले जानकारी दिए । अहिले १७ वटा पोलमा जडान गरिसकिएको र बाँकी रहेका ठाउँमा विस्तारै जडान गर्दै लगिने बताइएको छ ।

सदरमुकामको बडागाउँ क्षेत्र, मुलुककै अग्ला तीनवटा पुल, यान्त्रिक पुल क्षेत्रमा पनि सौर्य बत्ती जडानको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

यसअघि विद्युत्बाट केही ठाउँमा सडक बत्ती जडान भए पनि विद्युत्भार कटौतीका बेला प्रभावकारी नभएपछि र अँध्यारो भएका बेला बजारमा आपराधिक घटना बढ्दै जान थालेपछि सौर्य बत्ती जडानको अवधारणा ल्याइएको हो ।

अहिले विद्युत्भार कटौतीको समयमा पनि सडक भने झलमल्ल हुने गरेको छ । अँध्यारोको मौका छोपेर गैरकानुनी क्रियाकलाप गर्नेका लागि सौर्यबत्तीले ठूलो भूमिका खेलेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए । उनले भने– “सडकमा चौबीसै घन्टा बत्ती बलेपछि व्यापारीले समेत ढुक्कले सुत्न पाएका छन् ।’’

कुश्मा बजार, पातीचैर र वारिबेनीमा सिसी क्यामेरासमेत जडान भइसकेको भए पनि रातिको समयमा हुने गतिविधि थाहा पाउन समस्या भएका बेला नगरपालिकाको पहलमा सौर्य बत्ती जडान भएपछि सहज भएको जिप्रका पर्वतले जनाएको छ ।

अबदेखि कुश्मा बजारमा रातिको समयमा पनि आपराधिक र गैरकानुनी क्रियाकलाप गर्ने, होहल्ला गर्नेलाई सजिलै पक्राउ गर्न सकिने प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए । उनले अपुग भएका ठाउँमा पनि सौर्य बत्ती जडान गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share