सोमवार, मंसिर २०, २०७८

सुशील’दासँगको गणतान्त्रिक संवाद

१५ जेष्ठ २०७३, शनिबार १४:४९

सन्दर्भ ः गणतन्त्र दिवस

bipul pokhrel
विपुल पोख्रेल

२०५९ सालमा राजा ज्ञानन्द्रले शासन आफ्नो हातमा लिएपछि देशमा एक प्रकारको सन्नाटा छाइरहेको थियो । दलहरु सडकमा आउन सकिरहेका थिएनन् । हिंसात्मक बिद्रोहमा रहेको माओवादीको त्रास एकातिर थियो भने निरंकुश बन्ने राजाको महत्वाकांक्षाका छिटाहरु पनि हिंस्रक रुपमा आउने छन् भन्ने त्रास पनिउत्तिकै थियो ।
नेताहरुलाई थुनिएको थियो । सँगै बसेर रणनीति निर्माण गर्ने त्यस आधारमा दुवै खाले हिंसाका माझबाट जनअधिकारका पक्षमा लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउने सम्भव जस्तो थिएन । त्यस्तो अवस्थामा पत्रकारहरु र मानवअधिकारबादीहरुले थुनिएका नेताहरुलाई भेट्ने र अर्को नेताले के सोचिरहेको छ भन्ने कुराको सन्देश पु¥याउने काम गर्दथे ।
यही क्रममा नेपालगञ्ज पुगियो । म त्यतिबेला नेपाल पत्रकार महासंघको केन्द्रीय उपसभापति थिए । पत्रकार महासंघका केन्द्रीय सभापति तारानाथ दाहाल र सदस्य विनोद ढुङ्गेल, नेपालगञ्जका केही पत्रकार साथीहरु र म बाँके जिल्ला प्रहरी कार्यालयमा गयौं, जहाँ कांग्रेसका तत्कालिन महामन्त्री सुशील कोइरालालाई राखिएको थियो । डीएसपीको कार्यकक्षलाई खाली गरी उहाँलाई राखिएको थियो । हाम्रो टोलीलाई सहजै सुशील’दासँग भेट गर्न दिइयो । हामीलाई देख्नासाथ उठेर हातमिलाउँदै बस्न भन्नुभयो, अनी बस्नासाथ ‘के छ यार काठमाडौतिरको खबर ?’ भनेर तारानाथ दाहालतर्फ हेर्दै सोध्नुभयो । आफूले पाएको सूचनाका आधारमा उहाँले धेरै कुरा सुशील’दालाई भन्नुभयो । नेताहरु अबअलि अगाडि बढ्नुप¥यो । राजाकाबारेमा पनि सोच्नु प¥यो भन्ने भावना जनस्तरमा छ भन्ने कुरा उहाँले सुनाउनु भयो । मैले पनि थपे, ‘अब गणतन्त्रको नारा नलगाउने हो भने जनता आउदैनन् सडकमा ।’ हाम्रो ति कुरामा सुशील’दा सहमत नभएको झै लाग्यो उहाँको अनुहारको प्रतिक्रियाबाट । ‘नेताहरु बस्नुहुन्छ, के निर्णय लिनुहुन्छ त्यही गरौल अहिले नहतारियौं’ भन्दै उहाँले ‘अझै गणतन्त्रको कुरा नगरिहाल्नुहोस्’ भन्ने आग्रह भावमा हामीलाई भन्नुभयो ।
तारानाथ दाहालले सुशील’दालाई उहाँका केही विशेष सूचनाहरु काठमाडौ पुराइदिने जिम्मा लिनुभयो र हामी उठ्न थालिम् । बिदाई हुँदा पनि उहाँले हात मिलाउनु भयो हामीसँग । हातमिलाउने क्रममा सुशीलदाको दाहिने हातलाई मैले मेरा दुबै हातले समाय र भने, ‘सुशील’दामलाई हजुरको फोटो उ त्यो राजारानीको फोटोका ठाँउमा देख्न मन छ ।’ सुशील’दागंभिर हुनुभयो, उहाँको आँखामा पहिलो पटक आँशु देखे मैले । त्यही मुद्रामा उहाँले भन्नुभयो, ‘मैले भनेर मात्र हुँदैन, तपाईहरु लाग्नुस्, असम्भव केही छैन ।’
लामो अन्तरालपछि मैले फेरि सुशील’दाको आँखामा दोस्रो पटक आँशु देखे । संसदले गणतन्त्रको घोषणा गरिसकेको थियो । त्यसको एकहप्ताभित्रै हो, काठमाडौमा सुशील’दालाई भेट्ने अवसर मिल्यो । त्यस क्रममा उठेका अरु सन्दर्भ र प्रशंगको कुरा यहाँ सम्झन चाहदैन । उहाँलाई मैले भने, ‘सुशील’दा आयो त गणतन्त्र, अब मेरो इच्छा पुरा हुने भयो ।’ उहाँ अकमकाउनु भयो र सोध्नुभयो, ‘कुन इच्छा ?’ मैले नेपालगञ्जको प्रहरी कार्यालयको संबाद स्मरण गराए । उहाँका आँखामा फेरि आँशु देखिए र भन्नुभयो, ‘नेपाली जनताको चाहनाभन्दा ठूलो केही छैन भन्ने कुरा फेरि पनि स्पष्ट भएको छ ।’ उहाँ रोकिनु भयो केहीबेर । भावुक मुद्रामा उहाँले आफ्ना दुवै हातका पञ्जा सुस्त सुस्त आफु बसेका सोफाका हत्तामा ठोक्नु भयो । अनी आकाशतिर हेरर भन्नुभयो, ‘यसको कुशल व्यवस्थापनको अबको हाम्रो पहिलो चुनौती हो ।’

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share