सुदूरपश्चिम विकासको मूल-मन्त्री लेखक
२२ कार्तिक २०७३, सोमबार १६:३०बैतडी, २२ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ७ नं प्रदेश अर्थात् सुदूरपश्चिम अत्यन्त सम्भावना बोकेको प्रदेश रहेको बताए ।
नेपाल प्रेस युनियन शाखा बैतडीले आज सदरमुकाम गोठलापानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले यो क्षेत्रलाई उत्तरमा चीनतर्फका नाका र दक्षिणमा भारततर्फका नाकासँग जोड्न सके व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिने बताए । “सुदूरपश्चिममा विकासका लागि थुप्रै सम्भावना छन्, यसका लागि पहल गरिरहेको छु ।”
जन्मभूमि बैतडीमा पुगेका मन्त्री लेखकले भारतको सीमासँग जोडिएको झुलाघाटमा पक्की पुल निर्माणका लागि भारतसँग सैद्धान्तिक सहमति भइसकेको बताए । यसका साथै दार्चुलाको खलङ्गा र डडेल्धुराको शीर्षमा पनि महाकाली नदीमाथि पक्की पुल निर्माणका लागि सैद्धान्तिक सहमति भएको र यसका लागि प्रक्रिया अगाडि बढेको जानकारी गराए ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोगका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासमा मन्त्री लेखकले यस विषयमा काँग्रेसले जनताको भावनाअनुसार निर्णय गर्नेछ भने।”
मन्त्री लेखकले वर्तमान सरकार संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउने दिशातर्फ अग्रसर रहेको बताए । संविधान संशोधनका साथसाथै संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन गर्न सरकार लागिपरेको उनको भनाइ थियो । रासस