सार्वजनिक सेवाको गुणस्तर मापन गर्न सर्वेक्षण
२६ असार २०७३, आईतवार १७:५९काठमाडौँ, २६ असार । सरकारी कार्यालयले सम्पादन गर्ने सार्वजनिक सेवा प्रवाहको गुणस्तरीयता मापनका लागि नौ जिल्लामा सर्वेक्षण सुरु भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक सेवा प्रदायक संस्थाका कामको गुणस्तरीयता मापनका लागि सिराहा, रौतहट, भक्तपुर, दोलखा, बागलुङ, रुपन्देही, बाँके, दाङ र दार्चुलामा अध्ययन सुरु गरेको हो । गत दुई महिनादेखि सुरु भएको सर्वेक्षण पुस मसान्तमा सम्पन्न हुनेछ ।
टिआइ नेपालले सन् २०१५ मा पहिलो पटक यी जिल्लामा सर्वेक्षण गरेको कार्यकारी निर्देशक आशिष थापाले राससलाई जानकारी दिए। “पहिलो पटकको सर्वेक्षणमा सरकारी सेवा प्रवाह समस्याग्रस्त पाइयो, गत वर्षको नौ जिल्लाको अध्ययनमा कार्यालयमा नागरिक बडापत्र राखे पनि त्यसअनुरुप काम नभएको सेवाग्राहीको गुनासो थियो”– उनले बताए ।
गत वर्षभन्दा यस पटक सेवा प्रवाहमा कति सुधार आयो ? भन्ने तुलनाका लागि सर्वेक्षण गरिएको टिआइ नेपालले जनाएको छ । काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा प्रकाश भट्टराईले सर्वेक्षणको संयोजन गर्नेछन् । रासस