सामूहिक आवास निर्माण गर्दै सेना
२ असार २०७३, बिहीबार १३:५२गोरखा, २ असार ।
जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाले केरौँजा, स्वाँरा, खरिबोट, मुच्चोक र थुमी गाविसमा सामूहिक आवास निर्माणको काम सुरु गरिसकेको छ भने घ्याच्चोक, बारपाक, लाप्राक, गुम्दा र सौरपानीमा पनि आवास निर्माणको काम सेनालाई दिने निश्चित भएको छ ।
यसअघि यी पाँच वटा गाविसमा जिल्लास्थित भवन डिभिजन कार्यालयले सामूहिक आवास निर्माण गर्ने जिम्मेवारी लिएको थियो । कार्यालयले दुई पटकसम्म टेन्डर आह्वान गरे पनि ठेक्का लाग्न नसकेपछि सेनालाई जिम्मा दिइएको हो । घ्याल्चोक र सौरपानी गाविसका सचिवले जग्गा प्राप्तिको पत्र जिल्लास्थित भवन डिभिजन कार्यालयलाई पठाउन ढिला गर्दा ती क्षेत्रमा सामूहिक आवास निर्माणको काममा ढिलाइ भएको बताइएको छ ।
नेपाली सेनाले जग्गा प्राप्तिको पत्र खोजेको र भवनले पत्र माग गर्दा सचिवले समयमै उपलब्ध नगराउँदा ढिलाइ भएको हो । स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले घ्याल्चोक गाविसमा सामूहिक आवास निर्माण गर्न जग्गा छनोटमा विवाद हुँदा यसअघि सचिवले सहमतिको पत्र पठाउन नसकेको बताए । सामूहिक आवास निर्माणका लागि तोकिएको गाविसमा सार्वजनिक जग्गा छनोट गर्नुपर्ने हुन्छ ।
भवन डिभिजन कार्यालय प्रमुख श्यामकिशोर सिंहले सचिवले जग्गा प्राप्तिको पत्र उपलब्ध गराएका कारण अब सेनाले सामूहिक आवास निर्माणको कामलाई तीव्रता दिने बताउनुभयो । बर्खामा भूकम्पपीडितलाई ओतमा राख्न सरकारले सामूहिक आवास निर्माणलाई अघि बढाउने निर्णय गरेको थियो ।
रासस