सामाजिक व्यवहार सुधार्न पहल
१ असार २०७३, बुधबार ०७:२०डोटी, १ असार ।
सामाजिक व्यवहार सुधार विधेयक, २०७१ माथि छलफल भएको छ । राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले प्रस्तावित विधेयक राय तथा सुझाव सङ्कलनका लागि सोमबार छलफल कार्यक्रम आयोजना गरेको थियो ।
सो अवसरमा समिति अन्तर्गतको उपसमितिका सभापति नवीन्द्रराज जोशीले नेपाली समाजले महिलाको अग्रसरतालाई सहजै रुपमा स्वीकार गर्न नसकेको र दाइजोका नाममा दुलहीको मोलमोलाइ पर्ने गलत परम्परा बस्दै गएकामा चिन्ता व्यक्त गरे ।
प्रस्तावित समाजिक व्यवहार सुधार ऐन, २०७१ ले समाजिक व्यवहारमा अनुत्पादक खर्च तथा भड्किलो प्रदर्शन गर्ने प्रवृत्ति नियन्त्रण गरी सर्वसाधारणको हित कायम गर्न तथा सामाजिक व्यवहारलाई सरल, स्वच्छ र मितव्ययी बनाउनका लागि सरकारले ऐन जारी गर्ने तयारी गरिरहेको सांसद गौरी ओलीले बताए ।
रासस