साझेदारीद्वारा गाविसलाई प्राविधिक सहयोग
१९ असार २०७३, आईतवार १८:३८सुर्खेत, १९ असार ।
साझेदारी विकास परियोजनाले परियोजना लागु भएका दोस्रो चरणका गाविसहरुलाई प्राविधिक सहयोग गरेको छ । आइतबार जिल्ला विकास समितिमा एक कार्यक्रमको आयोजना गरेर प्राविधिक सहयोग हस्तान्तरण गरिएको हो ।
परियोजना लागु भएका गाविसहरु मध्ये बाबियाचौर, दशरथपुर र बिजौरा गाविसलाई डेस्कटप कम्यूटर, प्रिन्टर र स्टेप्लाईजर र बाँकी १० ओटा गाविसलाई प्रिन्टर र स्टेप्लाईजर प्रदान गरिएको हो । साझेदारी विकास परियोजना/प्याक्टका फिल्ड संयोजक प्रज्ञा थापाले जिल्ला विकास समितिका कार्यक्रम अधिकृत टंक लामिछानेलाई सामान हस्तान्तरण गरेकी थिइन् भने कार्यक्रम अधिकृत लामिछानेले गाविस सचिवहरुलाई हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा फिल्ड संयोजक थापाले परियोजनाले प्रदान गरेको प्राविधिक सहयोगले गाविसमा सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो सेवा दिन सहयोग गर्नेमा विश्वास व्यक्त गरिन् । साथै गाविसको हरेक कामहरुलाई कम्पयुटर प्रणाली मार्फत चुस्त दुरुस्त राख्नका लागि सहयोग गर्नेमा थापाको विश्वास छ ।
परियोजनाले सहयोग गरेका सामानहरु ग्रहण गर्दै गाविस सचिवहरुले गाविसले प्रदान गर्ने सेवाहरुमा गुणस्तरीयता थप्नका लागि मद्दत गर्ने बताए । कार्यक्रममा बाबियाचौर गाविस सचिव भद्रबहादुर थापाले सेवाग्राहीलाई छिटो छरितो र सहजरुपमा सेवा प्रदान गर्नका लागि प्राविधिक सामान सहयोगी हुने विश्वास व्यक्त गरे ।