समृद्ध सुदूरपश्चिमका लागि पहल सुरु
२१ जेष्ठ २०७३, शुक्रबार ०९:३२डोटी, २१ जेठ । सुदूरपश्चिम क्षेत्रको समग्र आर्थिक सामाजिक विकासको तयारीसम्बन्धी बहस सुरु भएको छ । देश सङ्घीय संरचनामा गइरहेका बेला प्रदेश नंं ७ नामाकरण गरिएको सुदूरपश्चिमको आर्थिक, सामाजिक, राजनैतिक अवस्था सुधार र दीर्घकालीन विकासका निम्ति प्रयास थालिएको छ ।
प्राकृतिक सम्पदा, धार्मिकस्थल, पर्यटकीयस्थलको प्रचुर सम्भावना रहेको सुदूरपश्चिमलाई सक्षम बनाउनका निम्ति हरेक पक्षले प्रक्रिया आरम्भ गर्नुपर्ने विहिबार आयोजित एक कार्यक्रममा जोड दिइएको छ । बिहीबार डोटीको सिलगढीमा सुदूरपश्चिम क्षेत्रको समग्र आर्थिक सामाजिक विकासको तयारीसम्बन्धी जिल्लास्तरीय गोष्ठीका सहभागीले प्रचारप्रसारको अभावले ओझेलमा परेका सम्भाव्यता बोकेका सम्पदाका बारेमा जानकारी गराएका थिए । राज्यको नजरबाट टाढा मानिएको सुदूरपश्चिम अलग्गै प्रदेश बन्ने भएपछि यहाँको समग्र विकासका निम्ति अहिले नै बहस भएन भने समस्या पुरानै रहने सुदूरपश्चिम विकास आयोगका प्रमुख जीवनप्रभा लामाले बताए । साथै, उनले सुदूरपश्चिम विकास आयोग कुनै मजबुत सङ्गठन नभएर यहाँका समस्या र समाधानका निम्ति दबाब दिन गठन भएको संस्था रहेकाले सबैसँग सहकार्य गर्दै अगाडि बढेको औँल्याए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा डा विजय कुँवरले सुदूरपश्चिममा इतिहासका रुपमा स्थापित भइसकेका देउकी प्रथाजस्ता कुरालाई प्रचार नगरी पश्चिमले पनि विकासको गतिमा अग्ररसरता लिँदैछ भन्ने कुराको भान गराउनुुपर्नेमा जोड दिए ।
उनले सम्भावना बोकेका कुराको प्रचार गरी कार्यान्वयनको चरणमा जानु अहिलेको प्रमुख आवश्यकता रहेको आैँल्याए । अहिलेसम्म सुदूरपश्चिममा व्यवस्थित योजनासम्बन्धी कुनै पनि गृहकार्य नभएको र त्यस्ता दस्तावेज अहिलेसम्म नभेटिएकाले आगामी दिनमा विगतबाट पाठ सिक्दै नयाँ योजनाका साथ अगाडि बढ्नुपर्नेमा सुदूरपश्चिम विकास आयोगका अधिकृत भोजराज भट्टले बताए । कुनै पनि ठाउँको विकास र प्रचारका निम्ति सामूहिक छलफल र दस्तावेज बन्नु आवश्यक रहेकाे उनले बताए।
जिल्लास्थित राजनैतिक दलका प्रमुख, सरकारी तथा गैरसरकारी निकायका प्रमुख सम्मिलित गोष्ठीले सुदूपश्चिमको विकासका निम्ति हातेमालो गर्नुपर्ने अहिलेको आवश्ययकता रहेको औँल्याएको छ । रासस