सतर्कताका लागि सूचना प्रवाहको व्यवस्था
२० असार २०७३, सोमबार १८:२९काठमाडौँ, २० असार । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न बाढी प्रभावित क्षेत्रमा पूर्वसतर्कताका लागि आजदेखि सूचना प्रवाहको व्यवस्था मिलाएको छ ।
कन्काई, मेची, नारायणी, वाग्मती, बबई, भेरी, कर्णाली र महाकाली नदी तथा त्यस आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकले बाढीको जोखिम हुनेबित्तिकै यस किसिमको सूचना प्राप्त गर्ने छन् । विभागले ती क्षेत्रका नदीमा पानीको बहाब उच्च हुँदा त्यहाँका सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलबाट खतरा रहेकाले सुरक्षित हुन तथा सुरक्षित स्थानमा भाग्न सन्देश उपलब्ध हुने छ ।
विभागका महानिर्देशक डा ऋषिराम शर्माले बाढी प्रभावित क्षेत्रमा ठूलो धनजनको क्षति हुँदै आएकाले त्यसको न्यूनीकरणका लागि सूचना प्रणालीको विकास गरिएको र त्यसका आधारमा टेलिकम र एनसेलबाट चार प्रकारका सूचना प्रवाह हुने जानकारी दिए ।
खतराका अवस्था अनुसार सन्देश उपलब्ध गराइने छ । यस किसिमको व्यवस्था अहिलेलाई परीक्षणका रुपमा रहे पनि आउने दिनमा यसलाई थप व्यवस्थित गराइने बताइएको छ । रासस