शनिबार, मंसिर १८, २०७८

सगरमाथा सिमेन्ट गुणस्तर हिन उत्पादन रोक्न विभागको निर्देशन

१९ जेष्ठ २०७३, बुधबार १३:४१

patraदाङ, १९ जेठ ।
दाङमा उत्पादन गरिरहेको घोराही सिमेन्ट उद्योगले उत्पादन गरेको ओपिसी सिमेन्ट गुणस्तरहिन भेटिएको छ । सिमेन्ट गुणस्तर हिन भेटिए पछि नेपाल गुणस्तर तथा नापतौल विभागले उत्पादन राेक्न र विक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले उत्पादन बन्द गर्न र बजारमा गएको सिमेन्ट फर्काउनका लागि समेत निर्देशन दिएको जनाएको छ । घोराही सिमेन्ट उद्योगमा आएर गत माघको १२ गतेका दिन गुणस्तर तथा नाप तौल विभागले ओपिसी सिमेन्टको नमूना जाँच गरेको थियो । नमूना जाँचका क्रममा सिमेन्टको मापदण्ड अनुसारको गुणस्तर नभएको पाइएपछि विभागले घोराही सिमेन्ट इन्डष्ट्रिजलाई पत्र पठाए यस्तो निर्देशन दिएके हो । पत्रमा घोराही सिमेन्ट ईन्डष्ट्रिज प्रालिलाई बिभागले माघ १२ गते अनुुगमन गर्दा संकलित ओपीसी सिमेन्टको नमुना प्रयोगशालामा परिक्षण गराउदा नतिजामा Insoluble Residue/Magnesia को मान नेपाल गुुणस्तर २०४९ अनुरुप नदेखिएको उल्लेख छ । सोही समयमा विभागले उद्योगलाई उक्त मितिमा उत्पादित सिमेन्ट बजारबाट फिर्ता लिई आफ्नो उत्पादन ओपीसीको विक्री वितरण बन्द गर्न र नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४९ को नियम १६ बमोजिम कारबाही किन नगर्ने भनि स्पष्टीकरण मागेको थियो । विभागले १५ दिन भित्र लिखित स्पष्टीकरण माग गरेको भएपनि उद्योगले हालसम्म स्पष्टीकरण नबुझाएको उद्योग स्रोतले जानकारी दिएको छ । सिमेन्ट उद्योगका एक जना कर्मचारीले नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार विभागले घोराही सिमेन्ट उद्योगलाई आफ्नो सबुत सहित सुधारका लागि लिने करेक्टीभ एक्सनसहित १५ दिनभित्र विभागमा स्पष्टीकरण पेश गर्न ०७२ चैत ३० को निर्णय अनुसार जानकारी गराएको थियो । विभागले यस प्रकारको स्पष्टीकरण सहित ओपीसी सिमेन्टको उत्पादन र बिक्री वितरणमा रोक लगाउन भनेको भएपनि उद्योगले ओपीसी सिमेन्ट उत्पादन र बजारमा बिक्री वितरण गरिरहेको पाइएको छ । तर उद्योगका जनसम्पर्क अधिकृत विकास शर्माले आफूहरुलाई गुणस्तर तथा नापतौल विभागले कुनै पनि खालको पत्र नपठाएको दावी गरेका छन् । उनले आफूहरुलाई कतैबाट पनि यस्तो खालको पत्र नआएको बताए । उद्योगलाई पत्र आएको बारेमा उद्योग प्रशासन बोल्न नमानेको भएपनि विभागले पठाएको पत्र भने सञ्चारमाध्यममा प्राप्त भएको छ । पत्रमा उद्योगलाई तत्कालका लागि ओपिसी सिमेन्टको उत्पादन र बिक्री वितरणमा रोक लगाउने स्पष्ट उल्लेख छ । नेपाल गुणस्तर तथा नाप तौल विभागका निर्देशक आलोककुमार मिश्रले लेखेको स्पष्टीकरण पत्रमा गत चैतको ३० गतेको निर्णय अनुसार स्पष्टीकरण पेश गर्न भनिएको छ । करिब डेढ महिनासम्म पनि उद्योगले पहिले उत्पादन गरेको सिमेन्ट फिर्ता नगरेपछि उपभोक्ताहरु मर्कामा पर्ने देखिएको छ । घोराही सिमेन्ट उद्योगले सगरमाथा नामक ओपिसी र पिपिसी सिमेन्ट उद्योग उत्पादन गर्दै आएको छ । ओपिसी सिमेन्टको प्रयोग घरको जग, पिलर, ढलाइ, विम लगायत पुल निर्माणका लागि प्रयोग गरिन्छ भने पिपिसी सिमेन्टको प्रयोग पलस्तर र जोडाइका लागि प्रयोग गर्ने गरिन्छ ।

फिर्ता भएन सिमेन्ट

नेपाल नापतौत तथा गुुणस्तर विभागले उद्योगलाई पत्र काटेर सरगरमाथा ओपिसी सिमेन्ट गुणस्तरहीन भेटिएकोले उत्पादन रोकी उत्पादित सिमेन्ट वजारबाट फिर्ता लिने दिएको निर्देशन उद्योगले अटेरी गर्दे आएको छ । चैत ३० गते विभागले पत्र काटेर दाङको घोराही सिमेन्ट उद्योगलाई कानुनी कारबाहीको समेत चेतावनी दिएको छ । तर उद्योगले त्या चिठीको अहिलेसम्ममा कुनै कार्यान्वयन गरेको छैन । गत माघ महिना उद्योगले उत्पादन गर्ने सिमेन्टको गुणस्तर चेकजाँच गर्दा गुणस्तर नपुगेको र गुणस्तरहीन भएको भन्दै उत्पादन रोकी बजारको सामान फिर्ता नि र बिक्री वितरण रोक्न निर्देशन दिएको थियो । अहिलेसम्म उद्योगले उत्पादन गरेको सगरमाथा ओपिसी सिमेन्ट उत्पादन पनि रोकिएको छैन भने बजारमा पनि बिक्री वितरण कायमै राखिएको छ । विभागको निर्देशन उद्योगले अटेर गरेका छ । स्थानीय सगरमाथा सिमेन्टका विक्रेताहरुले आफुहरुलाई यस विषयमा उद्योगले कुनै पनि जानकारी नदिएको बताएका छन् । व्यवसायी केवल खड्काले नियमित रुपमा सिमेन्ट बिक्री गरिहरको र उद्योगले फिर्ताको बारेमा कुनै जानकारी नदिएको बताए । उनले आफुहरुले सिमेन्ट बेचिरहेको र कुनै पनि प्रकारले बिक्री वितरण रोक्ने बरेमा जानकारी नभएको बताए । हामीलाई यस विषयमा कुनै जानकारी छैन एक व्यवसायीले भने नियमित रुपमा बेचिनै रहेका छौ, उद्योगले पनि पठाइ रहेको छ । बिक्री नरोकेकाे स्थानीय सिमेन्ट व्यवसायी सुनिल आचार्यले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share