संविधानको पुनःलेखन सम्भव नरहेको – नेता पौडेल
६ असार २०७३, सोमबार १२:२३विराटनगर, ६ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पुनःलेखन सम्भव नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा साेमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले विभिन्न राजनीतिक दलले उठाएका माग सम्बोधन गर्न आफुहरु संविधान संशोधनका लागि तयार भइरहेको अवस्थामा संविधान पुनःलेखनको माग उठाउनु जायज नभएको बताए ।
वरिष्ठ नेता पौडेलले सहमतिको सरकारको भन्दा व्यवस्थाको चिन्ता गर्न राजनीतिक दलहरुलाई आग्रह गर्दै उनले भने –“व्यवस्था भए सरकार आइरहन्छ, गइरहन्छ, व्यवस्था नै नभए न त सरकार रहन्छ, न राजनीतिक दलहरु नै रहन्छन् ।”
स्थानीय निकायको निर्वाचनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले आफुहरु निर्वाचनका लागि तयार भइरहेको अवस्थामा सरकारले सल्लाह नै नगरी कार्ययोजना ल्याएकामा असन्तुष्टि व्यक्त गरे ।
उनले कार्ययोजनामा छलफल गरेर भए पनि स्थानीय निकायदेखि सङ्घीय संसद्को निर्वाचन गराउनुपर्ने धारणा व्यक्त गरे । रासस