मङ्लबार, माघ ११, २०७८

शिक्षक र सम्पादक मानक भाषाका संवाहक

२६ असार २०७३, आईतवार १६:५९

पोखरा, २६ असार । नेपाली भाषा र भाषा शिक्षण विषयमा यहाँ आयोजित अन्तक्र्रियामा शिक्षक र सम्पादक मानक भाषाका संवाहक भएकामा जोड दिइएको छ ।

नेपाली भाषा शिक्षक परिषद्को संयोजनमा नेपाली भाषाका विज्ञ सहभागी उक्त अन्तक्र्रियामा वक्ताले भाषिक शुद्धतालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन शिक्षक र सम्पादकको महत्वपूर्ण भूमिका हुने बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रा डा हेमाङ्गराज अधिकारीले शिक्षक र सम्पादकमा भाषालाई कता हिँडाउने भन्ने भर पर्ने भएका कारण उनीहरुले विशेष सतर्कता अपनाउनुपर्ने बताए । “लेखक, स्रष्टाहरुले आफ्ना अनुकूल प्रयोग गरे पनि शिक्षक र सम्पादकले स्तरीय मानक नेपाली भाषाको मात्रै प्रयोग गर्नुपर्छ,” उनले भने ।

भाषामा उच्चारणको महत्वपूर्ण भूमिका रहने हुँदा शुद्ध उच्चारण गर्नुपर्ने र लेखनका क्रममा लिपिलाई भाषानुकूल बनाउँदै मानक भाषाको प्रयोग गरिनुपर्नेमा उनकाे जाेड थियो ।

नेपाली भाषाले राष्ट्रभाषाको मान्यता पाइरहेका सन्दर्भमा प्रयोगकर्ताले अभिव्यक्तिमा शुद्धता र अर्थपूर्णतामा ध्यान दिनुपर्ने परिषद्का अध्यक्ष लोकचन्द्र खनालले बताए । उनले भाषिक समस्यामा देखिएका विवाद आधिकारिक रुपमा समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रा डा सर्वराज आचार्यले भाषिक नियमको वकालत गर्नेहरु नै अहिले नियममा बस्न नसक्नु विडम्बना हो भने । कास्की जिल्लाका विद्यालयमा नेपाली विषय अध्यापन गरिरहेका १२१ शिक्षकशिक्षिकाको सहभागिता रहेको उक्त अन्तक्र्रियामा नेपाली बृहत् शब्दकोशको समयानुकूल परिमार्जन भइसकेकाले सही प्रयोग गर्नुपर्ने आजको आवश्यकता रहेकामा वक्ताले जोड दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share