बुधबार, मंसिर २२, २०७८

शक्ति र पैसामा नबिक्ने स्रष्टा हुन् अम्बर

२५ जेष्ठ २०७३, मंगलवार १७:२३

(रमेश लम्साल)
काठमाडौँ, २५ जेठ । नेपाली गीत–सङ्गीत क्षेत्रको सगरमाथा आज नेपाली माझ छैन । उनको सिर्जना हाम्रो सामु छ तर भौतिक शरीरले विश्राम लिएको छ । धेरैका आँखा रसाएका छन् । धेरैले आफूलाई टुहुरो भएको अनुभव गरेका छन् ।  जीवनका कालखण्डमा अनेकौं हन्डर र ठक्कर बेहोरेका र स्पातिलो बनाएका व्यक्तित्व अम्बर गुरुङको भौतिक शरीरले अन्तिम श्वास फेर्दा धेरैलाई पत्यार लागेको थिएन । तर जुन पत्यार लागेको थिएन आखिर भइदियो त्यही । गुरुङ भौतिक रुपमा हाम्रो माझ छैनन् तर उनको सिर्जनाले नेपाली मात्रलाई युगौयुगसम्म सम्झने बनाइदिएको छ । ‘यो नेपाली शिर उचाली’ जस्ता राष्ट्रवादी गीत नै किन नहोस् पछिल्लो पटक नेपाली राष्ट्रगान बनाउन उनले दिएको योगदान अविस्मरणीय रहेको छ ।
गीतकार, कवि तथा उनको जीवनकालमा सहयात्रा गरेका धेरैले उनलाई नेपाली गीत–सङ्गीतको सगरमाथाको विशेषण दिएका दिएका छन् । उनलाई महारथीको समेत पदवी अर्पण गरिएको छ । राष्ट्रगानका रचनाकार व्याकुल माइलाले उनलाई नेपाली सङ्गीत क्षेत्रको शिखर पुरुषको संज्ञा दिँदै भन्छन् – “विसं २०६४ को जेठ महिनाको अन्तिमसाता वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले आफ्नो निवासमा बोलाउनुभयो । मलाई सोध्नुभयो माइला लौ यस्तो हुने भयो है सङ्गीत ।”
माइलाले रासससँग भने – “उहाँले मलाई हार्मोनियम बजाएर गीत सुनाउनुभयो । मलाई लाग्यो यति मीठो र मधुर सङ्गीत कसरी बन्यो होला । खुसीको कुनै सीमा नै थिएन ।”
“मुलुक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा सरकारले नयाँ राष्ट्र गानको माग ग¥यो म पनि सहभागी भएको थिएँ, सफल हुन्छु हुन्न भन्दा पनि सहभागिता जनाउने कुरा नै महत्वपूर्ण थियो,” माइला स्मरण गर्छन् । गुरुङ छनोट समितिमा समेत थिए । उनले विभिन्न १४ वटा धुन बनाएका थिए । त्यसमध्ये तीनवटा धुन उत्कृष्ठ ठहर गरिएको थियो ।
“मेरो गीत छनोट भएको त्यसमाथि उहाँजस्तो सङ्गीत मर्मज्ञले सङ्गीत गर्ने कुराले ममा खुसीको सीमा थिएन,” – माइलाले भने ।
नेपाली गीत–सङ्गीत क्षेत्रले एउटा भीमकाय हस्ती गुमाएको माइला ठान्छन् । उने भने– “यति उच्च कोटिको सर्जक पाउन मुस्किल छ, नेपाली साङ्गीतिक क्षेत्र र मलाई आज असाध्यै पीडा भएको छ ।”
कवि तीर्थ श्रेष्ठको एउटा धोको बाँकी रह्यो गुरुङसँग । दुईवटा गीतमा सङ्गीत गराउने इच्छा उनको निधनसँगै सेलाएको छ । रासससँग कुरा गर्दै श्रेष्ठले भने – “विसं २०६८ मा उहाँको निवासमा गीतको कुरा भइरहेको बेला लौ तीर्थ तिम्रो गीत देउ सङ्गीत गर्नुपर्‍यो भन्नुभयो । मैले उहाँलाई दुईवटा गीत सुनाए । उहाँले लौ अब तत्कालै सङ्गीत गर्नुपर्‍यो । उहाँको स्वास्थ्य अवस्थाका कारण त्यो सम्भव हुनसकेन । मेरा लागि ठूलो धोको बाँकी रह्यो ।”
गुरुङलाई सुनाउनुभएको गीतको एक अंश श्रेष्ठले राससलाई पनि सुनाए । “कतै टाढा जानु थियो सँगै जान्छौ कि, जाने मन हुँदा हुँदा लाजै मान्छौ कि ।” कवि श्रेष्ठले उहाँलाई अर्को गीत पनि सुनाउनुभएको थियो । त्यो गीत यस्तो थियो – “तिमीले नसम्झदैमा म तिमीलाई कहाँ भूल्छु र” नेपालको राष्ट्रिय सद्भाव खल्बलिएकामा समेत गुरुङ चिन्तित हुनुहुन्थ्यो । नेपालयले नेपालगन्जमा आयोजना गरेको ‘पलेटी’ शृङ्खलापछि उहाँ डाँको छोडेर नै रुनुभएको थियो कवि श्रेष्ठ स्मरण गर्छन् । गीत–सङ्गीत र रचना तीनवटै क्षेत्रमा उहाँ सर्वज्ञ हुनुहुन्थ्यो । एउटै मान्छे तीनवटै विधामा पोख्त हुने कुरा सामान्य मान्छेका लागि सहज नहुनसक्छ तर गुरुङको हकमा भने सामान्य थियो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्य भएर गुरुङसँगै काम गरेका यज्ञबहादुर उपाध्याय आफ्नो स्वाभिमान कुनै पनि अवस्थामा डगाउन नचाहने व्यक्तिको रुपमा स्मरण गर्छन् ।
गीतकार चाँदनी शाहको गीतलाई गीत नै नभएको भनेर च्यातिदिनसक्ने क्षमता गुरुङमा थियो भन्छन् उपाध्याय । गीतकार शाहको गीतमा सङ्गीत भर्ने र गाउने होडबाजी चलेको बेला दरबारका सचिवकै अगाडि गीत च्यातिदिएको आफूहरुसँग गुरुङले बताउनुभएको स्मरण गर्दै उपाध्यायले भने– “राजा महेन्द्रले दार्जिलिङबाट ल्याउनुभएको भए पनि दरबारको शक्ति र प्रभावमा कहिल्यै नपरेको र भेटघाट पनि त्यति धेरै नगरेको हामीलाई उहाँले पटक पटक सुनाउनुभएको थियो ।”
एउटै प्रतिष्ठानले गीत–सङ्गीत, कला क्षेत्रमा योगदान गर्न सक्दैन भन्दै उनले नीति निर्मातालाई पटक पटक सचेत गराएका थिए । विसं २०४२/०४३ देखि नै उनको माग थियो– प्रज्ञा प्रतिष्ठानले मात्रै सबै क्षेत्रमा योगदान दिन सक्दैन । विधागत विकास हुनसक्दैन । उनको यो मागले २०६७ वैशाखमा मात्रै साकार रुप पाउन सक्यो ।
गीत–सङ्गतीलाई व्यवसाय बनाउनु भएन, सस्तो गीत पनि बनाउनु भएन । उपाध्याय भन्छन्– “गीतलाई व्यवसाय नबनाएका कारण उहाँ जीवनको उत्तरार्धमा चेलाको सहयोगमा बाँच्नुपर्ने अवस्थामा पुग्नुभएको थियो । पैसा कमाउनु भएन नाम मात्रै कमाउनुभयो ।”
गीतलाई सस्तो बनाउनुभएको भए चलचित्रमा पनि सङ्गीत गरेर राम्रै पैसा कमाउन सक्नुहुन्थ्यो तर गुरुङको स्वभावले दिएन । त्यसैले उनीले सङ्गीत गरेको नौलाखे तारा उदाए भन्ने गीत जस्तै जीवनबाट उनी अस्ताए । भौतिक रुपमा अस्ताए पनि नेपाली गीत– सङ्गीत क्षेत्रले उनलाई कहिल्यै अस्ताउन दिने छैन । रासस

 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share