सोमवार, मंसिर २०, २०७८

विप्लव माओवादीद्वारा वर्ड भिजनको कार्यालयमा आगजनी

३० जेष्ठ २०७३, आईतवार ११:०४

नुवाकोट, ३० जेठ । भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा गएराति आगजनी भएको छ । आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ । 

गएराति १२:३० बजे तीन जनाको समूहले विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको वर्ड भिजनको कार्यालय परिसरमा रहेको गाडीमा आगो लगाएका थिए । प्रत्यक्षदर्शी संस्थाका सुरक्षाकर्मी तुलबहादुर प्याकुरेलका अनुसार गेटपट्टिबाटै भित्र छिरेका तीन जनाले उनलाई धम्याएर गाडीमा आगो लगाई गेटै खोलेर भागेका थिए । आफूहरु विप्लव माओवादीको कार्यकर्ता भएको बताउनेहरुले गाडीमा आगो सल्काएपछि हल्ला गरेमा मार्ने धम्की दिएको प्याकुरेलले बताए ।
गाडीमा करिब ४५ मिनेट आगो लागेपछि मात्रै नियन्त्रणमा लिइएको छिमेकी शिवप्रसाद अधिकारीले बताए । बलिरहेको गाडीको आगोको राप घरको तेस्रो तलामा पुगेपछि उनीहरुले पछाडिको भागमा डोरी लगाएर बलिरहेको गाडी गेटबाट बाहिर पुर्‍याएका थिए । त्यसपछि घटनास्थलमा पुगेको दमकलले गाडी र घरमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।
गाडीमा लागेको आगो घरमा सल्किँदा झ्याल तथा घरको बाहिरी भाग जलेको छ । कार्यालयको कागजात र सामग्री सुरक्षित रहेको वर्ड भिजनका देवेन्द्रप्रसाद गुरुङले बताएका छन् ।
दोस्रो तथा तेस्रो तलामा रहेका मानिसलाई छतमा भर्‍याङ राखेर प्रहरी र छिमेकीले अर्को घरको छतमा निकालेर उद्धार गरेका थिए । घरधनी कृष्णप्रसाद अधिकारीका अनुसार तल्लो तलामा गाडीबाट आगो घरमा सल्किएपछि माथि रहेका परिवारका सदस्यलाई एक घन्टापछि मात्रै उद्धार गर्न सकिएको थियो ।

आइतबार बिहान सञ्चारमाध्यमसँग सम्पर्कमा आएका विप्लव नेतृत्वको नेकपा माओवादी नुवाकोटका एक नेताले उक्त आक्रमणको जिम्मेवारी आफ्नो पार्टीले लिएको बताएका छन् । तर कारणका बारेमा भने केही भनिएको छैन । रासस

 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share