मङ्लबार, कार्तिक ९, २०७८

विद्युतीकरण हुने भएपछि स्थानीयवासी हर्षित

२७ भाद्र २०७३, सोमबार १३:१४

पाँचथर, २७ भदौ । पाँचथरको १० गाविसमा विद्युतीकरण हुने भएपछि स्थानीयवासीमा हर्षित भएका छन् । फिदिम विद्युत् उपभोक्ता सहकारी संस्थाको प्रस्तावबमोजिम नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागले रु ३५ करोड बजेट विनियोजन गरेकाले उनीहरुमा खुसियाली छाएको हो ।

संस्थाका सदस्य तथा पूर्व सांसद वसन्तकुमार नेम्वाङले विभागमा पेस गरेको प्रस्तावअनुसारको बजेट स्वीकृत भएपछि जिल्लाका १० गाविसमा विद्युतीकरण हुने आशा पलाएको बताए । रानीगाउँमा विद्युतीकरणका लागि रु पाँच करोड १० लाख, याशोकमा रु तीन करोड ४७ लाख, नाङ्गिनमा रु चार करोड ४८ लाख, रानीटारमा रु दुई करोड ८५ लाख विभागले विनियोजन गरेको छ ।

यसअघि नै विभागले लिम्वामा विद्युतीकरणका लागि रु पाँच करोड ५० लाख, दुर्दिम्बामा पनि रु पाँच करोड ५० लाख, नाँगीमा पाँच करोड, लुङ्रुपामा रु दुई करोड ३० लाख, स्याबरुम्बामा रु पाँच करोड बजेट स्वीकृत गरिसकेको नेम्वाङले जानकारी दिए ।

उहाँका अनुसार पछिल्लोपटक बजेट स्वीकृत भएको रानीगाउँ, याशोक, नाङ्गिन र रानीटारवासीले बजेट स्वीकृत भएको ४५ दिनभित्रमा छुट्टै विद्युत् सहकारी संस्था गठन गरेर विभागसँग सम्झौता गर्नु पर्नेछ । रानीटारका स्थानीयवासी जलकुमार तामाङले भने – “बजेट विनियोजन होला नहोला भन्ने अन्योलमा थियौँ, तर बजेट विनियोजन भएपछि गाउँमा केन्द्रीय प्रसारण लाइनको बत्ती बल्ने भयो, अत्यन्तै हर्षित भयौँ ।” जिल्लाका अधिकांश गाविसमा भने अझैसम्म रकम विनियोजन भएर पनि पोलमात्रै गाडिएको छ, अहिलेसम्म काम अघि बढ्न सकेको छैन ।

पाँचथरको फाक्तेपस्थित पञ्चमीबजारदेखि दशमी, उत्तरे, सप्तमी र रवि हुँदै सडकमा गाडिएका पोलमा अहिले खिया लाग्न थालिसक्यो तर विद्युतीकरणका लागि काम हुन नसकेको सप्तमीबजार व्यवस्थापन समितिका अध्यक्ष गङ्गा आङ्देम्बेले बताए । आयोजनाको जिम्मा लिएको ठेकेदार नै सम्पर्कविहीन भएपछि काम अघि बढ्न नसकेको स्थानीयवासीको गुनासो छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share