विद्यालय भवन निर्माण गर्न जग्गादान
२९ असार २०७३, बुधबार ०८:१२बैतडी, २९ असार । बैतडीको सित्तडमा एक जनाले विद्यालयको भवन निर्माणका लागि हालै जग्गादान गरेका छन् ।
गाउँको विद्यालयमा जमिनको अभावमा भवन निर्माण गर्न गाह्रो भएपछि स्थानीय करवीर भुलले जग्गादान गरेका हुन् ।
सित्तडको सलेनामा रहेको सामुदायिक जनचेतना प्राविको भवन निर्माणका लागि एक रोपनी तीन आना जग्गा दान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुञ्जेराम सार्कीले बताए । उनले भने, “स्थानीय समुदायको पहलमा सञ्चालन भइरहेको विद्यालयमा अहिले पनि भवनको अभाव रहेको छ ।”
करवीर भुलले विद्यालयको नाममा जमिन नामसारी गरिसकेपछि विद्यालयले धन्यवाद समेत ज्ञापन गरेको छ ।
धेरैजसो दलित समुदायका बालबालिका विद्यालयमा अध्ययनरत रहेकाले विद्यालय सञ्चालन गर्न सबै सरोकारवालासँग सहयोगका लागि आग्रह गरिएको अध्यक्ष सार्कीले बताए । रासस