‘विकासका लागि राजनीति गरौँ’
२० असार २०७३, सोमबार १८:४१पोखरा, २० असार । मुख्य सचिव डा सोमलाल सुवेदीले मुलुकको विकासका लागि राजनीति केन्द्रित हुनुपर्ने बताए ।
लेखनाथ नगरपालिकाको पचभैयाका जनतालाई स्वास्थ्यसेवा दिने उद्देश्यले आज स्थापना गरिएको नगर स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै उनले भने, “सत्ताका लागि भन्दा पनि विकासका लागि राजनीति गरौँ ।”
मुख्य सचिव डा सुवेदीले लेखनाथमा बसपार्क, औद्योगिक क्षेत्र र ताल संरक्षणका योजना अघि बढाउन स्थानीयसँग आग्रह गरे । लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत सागरप्रताप घिमिरे, नगरपालिकाको सामुदायिक शाखाकी प्रमुख मिना भण्डारी र शङ्करप्रसाद पौडेललगायतका वक्ताले स्वास्थ्य चौकीबाट स्थानीय जनता लाभान्वित हुने बताए । उक्त केन्द्रमा हाल एक÷एक जना अहेब, अनमी र कार्यालय सहयोगी राखेर स्वास्थ्य सेवा सुरु गरिएको छ । रासस