लगानी भित्र्याउन सुर्खेत लगानी बर्ष घोषणाको तयारी
२१ असार २०७३, मंगलवार १९:१३सुर्खेत, २१ असार ।
सुर्खेतमा नयाँ लगानी भित्र्याउने उद्देश्यले सुर्खेत लगानी बर्ष २०७३ को तयारी गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघको अगुवाइमा स्थानीय सार्वजनिक निजी सहकारी परामर्श मञ्चले यही असार महिनाको अन्त्यमा लगानी बर्ष घोषणा गर्ने तयारी गरेको हो ।
सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले पश्चिम सुर्खेतको चौकुने सिमेन्ट उद्योग र प्रादेशिक औद्योगिक क्षेत्रको सँगसँगै शिलान्यास गरेर लगानी वर्षको उद्घान गर्ने तयारी भएको बताएका छन् ।
सो अवधिमा ६ अर्बको लगानी र एक लाख पर्यटक भित्र्याउने योजना रहेको संघका अध्यक्ष अधिकारीले जनाए । कृषि, जडिबुटी, खानी खनिज, जलस्र्रोत र पर्यटनसँग सम्बन्धित क्षेत्रमा लगानी भित्रिने संघद्वारा दाबी गरिएको छ । मुख्यगरी भारत, चीन, नेदरल्याण्ड, अमेरिकाका लगानीकर्ताहरू सुर्खेतमा कृषि र जडिबुटीमा लगानी गर्न इच्छुक रहेको पाइएको बताउँदै अध्यक्ष अधिकारीले नयाँ–नयाँ लगानीले सुर्खेतमात्र नभइ समग्र मध्यपश्चिम क्षेत्रको विकासको कायापलट हुने दावी गरेका छन् ।
साना, मझौला र ठूला लगानी भित्र्याउनु आफूहरुको उद्देश्य रहेको अध्यक्ष अधिकारीको भनाइ छ । पछिल्लो समय सुर्खेतलगायत मध्यपश्चिम क्षेत्रमा कृषि उद्योग फष्टाइरहेकोले र त्यसपछि जडिबुटीले प्राथमिकता पाएको हुँदा जापानी, अमेरिकी, नेदरल्याण्डका लगानीकर्ताहरु लगानी गर्न उत्सुक रहेको पाइएको अध्यक्ष अधिकारीले जनाए । विदेशी लगानीकर्ताहरुसँग पनि लगानीका बारेमा व्यापक छलफल गरेर उनीहरुलाई लगानी गर्न तयार बनाउने आफूहरुको प्रयास रहने उनले बताए ।