आइतवार, असार १९, २०७९

रोल्पामा रेडियो प्रयोगकर्ता घटे

१८ कार्तिक २०७३, बिहीबार १२:५३

रोल्पा, १८ कात्तिक । कुनै समय सूचना र मनोरञ्जनको एक मात्र विकल्प मानिएको रेडियोका प्रयोगकर्ता पछिल्ला दिनमा घट्दै गएको एक अनुसन्धानले देखाएको छ ।

नेपाल सेन्टर फर कन्टेम्पोररी रिसर्च, जावलाखेल, ललितपुरले रोल्पामा गरेको एक अनुसन्धान प्रतिवेदनले यस्तो देखाएको हो । अनुसन्धान प्रतिवेदनअनुसार सन् २०१२ मा जिल्लामा रेडियो प्रयोगकर्ता ५१.७ प्रतिशत रहेकामा सन् २०१५ मा यो सङ्ख्या घटेर ४६.७ प्रतिशतमा झरेको छ । मोबाइलबाट सूचना मनोरञ्जन समेतको सुविधा प्राप्त भएकाले रेडियोको स्थान मोबाइल फोनले लिएको हुनसक्ने आँकलन गरिएको छ ।

मोबाइल प्रयोगकर्ता भने सन् २०१२ मा ७५ प्रतिशत रहेकामा सन् २०१५ मा बढेर ८३ प्रतिशतमा पुगेको छ । त्यसो त सदरमुकाम लिवाङलगायत रोल्पाका अधिकांश बजार केन्द्रमा रेडियो बिक्री तथा मर्मत पसल विस्थापित भइरहेका छन् भने मोबाइल बिक्री तथा मर्मत पसल थपिँदै गएका छन् । लामो समयदेखि रेडियो मर्मत गर्दै आउनुभएका लिवाङका राम थापाका अनुसार रेडियो किन्ने तथा पुराना मर्मत गर्ने ग्राहक आउन छाडेका कारण आफूले पनि व्यवसायमा विविधीकरण गरेको बताए ।

जिल्लामा रेडियो विस्थापित हुनु र मोबाइल प्रयोगकर्ता बढ्नु जिल्ला सूचना प्रविधिमा अगाडि बढ्दै गरेको सङ्केत भएको सूचना प्रविधिका जानकार भुवन श्रेष्ठले बताए । अनुसन्धान जिल्लाका लिवाङ, थवाङ र बुढागाउँ गाविसमा पहिलो चरणमा सात सय १७ घरधुरी र दोस्रो चरणमा ६ सय २९ घरधुरीमा गरिएको अनुसन्धानकर्ता गोपीकेश आचार्यले बताए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share