बुधबार, माघ ५, २०७८

रोपाईंको चटारोमा सुर्खेतका कृषक

१५ असार २०७३, बुधबार १९:३२

सुर्खेत, १५ असार ।
वीरेन्द्रनगर नगरपालिका १४ घुस्राका रत्न बहादुर थापा क्षेत्रीलाई आजभोली रोपाईको निकै चटारो परेको छ । विगतका वर्षमा ढिलो गरी रोप्ने खेतमा यो वर्ष असार मध्यमै रोपाईं भएपछि उनलाई रोपाईंको चटारो परेको हो ।

सुर्खेतको घुस्रामा धान रोप्दै किसान, तस्बिर : बिमला खड्का/खबरइरा
सुर्खेतको घुस्रामा धान रोप्दै किसान, तस्बिर : बिमला खड्का/खबरइरा

सुरुमा पानी नपर्ने डर मानेका कृषक रत्नबहादुर समयमै धान रोप्न पाएकोमा निकै खुशी पनि छन् । उनी भन्छन्, ‘सुरुमा डर लागेको थियो, कतै यो वर्ष पनि खडेरी पर्छ कि भनेर तर बेलैमा पानी परेको हुनाले रोपार्इं सुरु गरेको छु ।’ उनले भने, ‘असार १५ को धान दिवस परेकै दिनमा धान रोप्न थालियो ।’ समयमा पानीले साथ दिएको हुँदा गत वर्ष भन्दा यो वर्षमा छिटै धान रोपाईं भएको उनको भनाई छ ।

यसैगरी घुस्रा कै अमृता बुढा क्षेत्रीलाई पनि यो वर्ष समयमा नै धान रोप्न पाउँदा मनमा निकै हर्ष लागेकोे छ । आकाशे पानीको भरमा रोपार्इं गर्ने भएकाले विउ राखिसकेको बताउने कृषक अमृता अव केही दिनमै रोपाईं गर्ने तयारीमा छिन् । यसो भनिरहँदा अमृताको मुहारमा खुशी झल्कन्थ्यो । समयमै रोप्न पाउने भएपछि गत वर्ष भन्दा यो वर्ष धान खेतीमा राम्रो उत्पादन हुने उनले बताइन् ।

यसैगरी घुस्राकी रमिता थापालाई पनि समयमा रोपाईं गर्न पाउँदा निकै खुशी लागेको छ । उनी भन्छिन्, ‘पोहोर साल पानीले त्यति साथ दिएन र रोप्न ढिलो भयो तर यसपाली पानी छिटै परेको छ त्यही भएर पनि रोपाईंको तयारीमा जुटेका छौ ।’

सानो सुर्खेत कृषि सहकारी संस्था सुर्खेतका उपाध्यक्ष सर्जन रावतले घुस्रामा सबैले आकाशे पानीको भरमा रोपाई गर्ने भएकाले सबै ठाउँमा रोपाई नभएको बताए । उनले नहरमा पानी धेरै नहुने भएकोले सबै कृषकले आकाशे पानीकै भरमा रोपाई गर्नु पर्ने बताए ।

सुर्खेतमा उपत्यका भित्र १० प्रतिशत रोपाईं भएको उपत्यका बाहिर ३० प्रतिशत रोपाईं भएको र औसत गरेर सुर्खेत जिल्लामा २० प्रतिशत रोपाईं भइसकेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विजय गिरीले जानकारी दिए । उनका अनुसार मौसमले यसैगरी साथ दिइराखेमा साउनको पहिलो हप्तामै १०० प्रतिशत रोपाई भइसक्ने छ ।

असार १५ को अवसरमा जिल्ला कृषि विकास कार्यालय सुर्खेतले १३ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव घुस्रामै मनाइएको छ । महोत्सवमा क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल र जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विजय गिरीकासाथै कृषकको सहभागिता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share