राष्ट्रिय सहमतिका लागि छलफल गर्न एमाले तयार : खनाल
१९ असार २०७३, आईतवार १९:०९काठमाडौँ, १९ असार । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका लागि छलफल गर्न आफ्नो पार्टी सदैव तयार रहेको बताएका छन् ।
एमालेको स्थायी कमिटीले नै सो प्रस्ताव पारित गरिसकेको उल्लेख गर्दै उनले यसबारे जस्केलामा नभई मझधारमै आएर छलफल गर्न आग्रह गरे ।
व्यवस्थापिका–संसद् परिसरमा नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास गर्ने निर्णय गरेको सन्दर्भमा आइतबार सोधिएको प्रश्नमा उनले भने, “संविधान कार्यान्वयनमा सहजताका लागि राष्ट्रिय सहमतिको सरकारले राम्रो वातावरण निर्माण गर्नेछ, त्यस्तो सरकारको नेतृत्व गर्न वा त्यसबारे छलफल गर्न एमाले जहिले पनि तयार छ ।” रासस