राईहरुको याक्खा भाषा लोप हुने अवस्थामा
१२ असार २०७३, आईतवार ११:१५पाँचथर, १२ असार । राईहरुले बोल्ने याक्खा भाषा लोप हुने अवस्थामा पुगेको छ । राई परिवारमै याक्खा भाषाको प्रयोग नगर्नाले पनि यो भाषा अहिले लोप हुने अवस्थामा पुगेको किराँत याक्खा छुम्मा जिल्ला कार्यसमिति पाँचथर जिल्ला अध्यक्ष गजेन्द्र देवान बताउँछन् ।
उनी भन्छन् –“हामीले बोल्ने भाषा अहिले आउने पुस्ताले बेवास्ता गर्दा याक्खा भाषा नै सङ्कटमा परेकाले भाषा बचाउनको निम्ति पनि यो भाषासम्बन्धी अहिले तालिमको आयोजना गर्दैछौँ ।”
अहिले जिल्लाको ओलने गाविसको रु ६० हजार पाँच सयको आर्थिक सहयोगमा सुरु भएको सो तालिमले याक्खा भाषासम्बन्धी केही ऊर्जा दिए पनि सरोकारवाला समुदायले बेवास्ता गरे तालिमको कुनै महत्व नरहने किराँत याक्खा छुम्माका केन्द्रीय सदस्य खड्गबहादुर देवानको प्रतिक्रिया छ । उनले प्रशिक्षण, तालिमहरु सामान्य विकल्प मात्रै भएको भन्दै प्रयोगले नै भाषा बचाउन सकिने बताए ।
गाविसका १५ देखि ७५ वर्षसम्मका ४० जनाको सहभागिता रहेका सो तालिमको सहजीकरण किराँत याक्खा छुम्मा जिल्ला कार्य समितिका कोषाध्यक्ष मानभक्त देवानले गरिरहेका छन् । रासस