बिहिबार, माघ ६, २०७८

मुस्ताङका कृषकलाई ३३ हजार स्याउका बिरुवा वितरण

२ श्रावण २०७३, आईतवार १२:५८

बेनी (म्याग्दी), २ साउन । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा ३३ हजार स्याउका बिरुवा वितरण गरिएको छ ।

आव २०७२/७३ मा स्याउको विकासका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार बिरुवा वितरण गरिएको हो । चालु आवमा यो परिमाणमा वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

कृषकलाई गोल्डेन, रोयल, रेड, रिचाअरेड र फुजी डेलिसिस जातका स्याउका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । कृषकलाई व्यावसायिक स्याउ खेतीमा आबद्ध गराई आत्मनिर्भर बनाउन र स्याउको उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषक समूहमार्फत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले बताइन् ।

उनका अनुसार मुस्ताङको लेते र कुञ्ज गाविसबाहेक अन्य सबै गाविसमा स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङको मार्फा, टुकुचे, जोमसोम, कागबेनीलगायतका गाविसमा स्याउको उत्पादन राम्रो रहेको उनले जानकारी दिए ।

यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा स्याउको नर्सरी स्थापना गरिएको छ भने घमी, घिलिङ, छोसेरलगायतका स्थानमा स्याउ उत्पादन हुँदै आएको छ । गतवर्ष मात्रै मुस्ताङमा पाँच हजार मेट्रिक टन स्याउ उत्पादन भएको अधिकृत बरालको भनाइ छ ।

त्यस्तै कार्यालयले ५० प्रतिशत अनुदानमा खाद्य तथा बीउबिजन वितरण, मागमा आधारित हाते ट्याक्टर, रिफर, जुसरको वितरण, स्याउ र ओखरको बीउ वितरण गरेको बताएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share