मुगु–गमगढी सडक निर्माण कार्य सुरु भएन
१३ असार २०७३, सोमबार १०:४८जुम्ला, १३ असार । चालु आव ०७२/०७३ को अन्त्यसम्म पनि नाक्चेलाग्ना–मुगु–गमगढी सडक निर्माण कार्य सुरु हुन सकेन ।
मैनाचुली–सिद्धि शाही अन्जना जेभीले डिभिजन सडक कार्यालय जुम्लामा माघ ७ गते दुई वर्षका लागि सडक निर्माणको सम्झौता गरेको थियो ।
सम्झौता गरेको छ महिना बित्न लाग्दा पनि निर्माण कार्य सुरु नभएपछि यो वर्ष रु तीन करोड ८० लाख बजेट फ्रिज हुने अवस्थामा रहेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
हामीले यो सडक निर्माण कार्य जिम्मा लिएका ठेकेदार दीपेन्द्र शाहीलाई काम सुरु गर्न तीन पटकसम्म परिपत्र गर्यौँ, तथापि उनको बाहनाबाजीमै छ महिना बित्यो, डिभिजन प्रमुख भण्डारीले भने ।
तीन वर्षे प्रक्षेपणको अधिनमा रहेर कुल लागत रु नौ करोडमा लगाएको बहुवर्षीय ठेक्का ५० प्रतिशत घट्दा मैनाचुली सिद्धि शाही अञ्जना जेभीसँग रु साढे चार करोडमा सम्झौता भएको डिभिजन प्रमुख भण्डारीले बताए ।
फ्रिज जाने रकममा रु डेढ करोड नाग्म गमगढी सडक निर्माणमा खर्च गर्न रकमान्तरका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पत्र पठाइएको उनको भनाइ छ । उनका अनुसार काम सञ्चालन नभएका कारण ठेकेदार शाहीलाई उपलब्ध गराइएको १० प्रतिशत परिचालन खर्च रकम अब फिर्ता लिइनेछ ।
इञ्जिनियर सन्तराम पाण्डेले ठेकेदारको लापर्बाहीका कारण यो वर्ष नाक्चेलाग्ना गन्तव्यको मुगु–गमगढी सडकको निर्माण कार्य सुरु हुन नसकेको बताए । नाक्चेलाग्नासम्म ८५ किलोमिटर रहेको यो सडक निर्माण योजनाको ३० किमी सर्भे भएको बताउँदै इञ्जिनियर पाण्डेले हालसम्म १६ किमी मात्र ट्र्याक खोलिएको जनाए । रासस