शनिबार, मंसिर १८, २०७८

भूकम्पपीडितलाई प्रवासबाट रु नौ लाख सहयोग

२२ जेष्ठ २०७३, शनिबार १९:०५

फलेवास (पर्वत), २२ जेठ । विनाशकारी भूकम्पमा परी भौतिक क्षति भएका विद्यालय र घरबास गुमाएका विपन्न परिवारलाई प्रवासीले आर्थिक सहयोग गरेका छन् ।

रोजगारीका लागि अष्ट्रिया पुगेका पर्वतको चित्रे गाविस–२ का रुद्रबहादुर विश्वकर्माको पहलमा जिल्लाका दुई विद्यालय र पर्वतको फलेवास, राम्जा, तिलाहार, बागलुङ र कास्कीका गरी १८ घर परिवारलाई उनीहरुले आर्थिक सहयोग गरेका हुन् । पर्वतको राम्जा देउराली गाविसमा रहेको पशुपति उच्च माविलाई नगद रु २५ हजार, कुश्मा नपा–११ खरेहामा रहेको खरेहा प्राथमिक विद्यालयलाई रु ५० हजार नगद पुनःनिर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरेका छन् ।
त्यस्तै, भूकम्पबाट घरबास गुमाएका चार परिवारलाई नगद रु २० हजारका दरले र अन्यलाई रु १५ हजार र रु छ हजार ५०० का दरले आर्थिक सहयोग प्रदान गरेका हुन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रियामा आबद्ध विश्वकर्माले भूकम्पपीडितको दुःखमा थोरै भए पनि राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेका छन् ।
उक्त राहत रकम आज लायन्स क्लब अफ शिवालय, पर्वतको संयोजनमा पीडितलाई वितरण गरिएको हो । झन्डै रु तीन लाख नगद पीडितलाई हस्तान्तरण गरिएको थियो । विश्वकर्माले भूकम्प गएको समयमा झन्डै रु छ लाख बराबरको नगद र जस्तापाता सहयोग  गरे थिए । आफूहरु विदेशमा भए पनि स्वदेशमा रहेका पीडितलाई राहत पु¥याउने उद्देश्यले आफूले व्यक्तिगत र विभिन्न दाताबाट सङ्कलन गरेर रकम स्वदेश पठाएको उनले बताए ।
राहत हस्तान्तरण गर्दै रुद्रबहादुर विश्वकर्माकी पत्नी मञ्जु विश्वकर्माले आफूहरु रोजगारीका लागि लामो समयदेखि प्रवासमा रहनुपरे पनि आफ्नै गाउँठाउँमा केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि असहाय, गरिब र विभिन्न पीडामा परेकालाई सहयोग उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै लायन्स क्लबका डिस्ट्रिक्ट एडभाइजर काशीकुमार जोशीले जुनसुकै अवस्थामा पनि लायन्स क्लबले पीडितलाई सहयोग गर्दै आएको बताउँदै तत्काल राहत दिलाउनका लागि निरन्तर लागिरहने बताए । उनले विभिन्न सहयोगीको सक्रियता र पहलमा लायन्स क्लबले भूकम्प, बाढीपहिरो, आगलागीलगायतका पीडितलाई सहयोग उपलब्ध गराउँदै आएको बताए ।
त्यस्तै, लायन्स क्लबका एरिया कोअर्डिनेटर लेखनाथ उपाध्याय र मनोनित रिजन चेयरपर्सन वसन्तकुमार कर्माचार्यले प्रवासमा रहेर पनि आफ्नो गाउँका भूकम्पपीडितलाई पटक–पटक आर्थिक सहयोग उपलब्ध गराउन पहल गरेकामा सहयोगदाताको परिवारको प्रशंसा  गरिएको थियाे।
सो अवसरमा अमेरिकाको हावर्ड युनिभर्सिटिमा पूर्ण छात्रवृत्ति कोटामा अध्ययन गर्ने मौका प्राप्त गरेका सहयोगदाता रुद्रबहादुर विश्वकर्माका छोरा रोशन विश्वकर्मालाई सम्मानसमेत गरिएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share