शुक्रबार, असार १७, २०७९

भूकम्पपीडितका लागि शुक्लाफाँटामा काठ सङ्कलन

३ असार २०७३, शुक्रबार १५:१२

भीमदत्तनगर, ३ असार । गत वर्षको विनाशकारी भूकम्पबाट पीडित बनेका परिवारका लागि घर निर्माण गर्न शुक्लाफाँटा वन्यजन्तु आरक्षमा काठ सङ्कलन सुरु गरिएको छ ।

करिब दुई वर्षअघि आएको हावाहुरीका कारण कञ्चनपुरमा रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र रुख ढलेका थिए । ढलेका रुख सङ्कलनका लागि आरक्ष प्रशासनले केही समय अघिदेखि पहल थाले पनि मन्त्रिपरिषद्ले गत चैत १९ गतेको शुक्लाफाँटामा काठ सङ्कलन गर्ने निर्णय गरेको शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयपछि ढलेका चार हजार ४६० वटा रुख सङ्कलन गर्ने कार्य अघि बढाइएको छ । शुक्लाफाँटा आरक्षबाट काठ सङ्कलनको जिम्मेवारी पाएको सरकारी स्वामित्वको ‘द टिम्बर कर्पोरेसन अफ नेपाल’ (टिसिएन) महेन्द्रनगरका प्रमुख खेमराज जोशीले जेठ मसान्तसम्म करिब आठ हजार क्युफिट काठ सङ्कलन भइसकेको बताए ।

“वन नियमअनुसार हरेक वर्ष जेठ मसान्तदेखि कात्तिकसम्म वन प्रवेश निषेधका साथै कटानी, मुछानीको काम बन्द हुन्छ,” उनले भने ।– “बाँकी सङ्कलन कात्तिकपछि हुन्छ ।” उनले काठको लगत लिने काम भइरहेको जानकारी दिए । सङ्कलन गरिएको काठ कञ्चनपुरमै चिरान गरेर भूकम्प पुनःनिर्माण प्राधिकरणलाई पीडितलाई वितरणका लागि हस्तान्तरण गरिनेछ । “अहिले हामी काठ चिराउन मिल सञ्चालनको प्रक्रियामा छौँ ।” जोशीले भने – “भूकम्पपीडितलाई प्राधिकरणले वितरण गर्ने भनिएको छ ।”

शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका सूचना अधिकारी घिमिरेले सङ्कलन गरिएको काठमध्ये ७० प्रतिशत भूकम्पपीडितलाई र बाँकी २० प्रतिशत टिसिएनले बिक्री वितरण गर्नुका साथै १० प्रतिशत आरक्ष मध्यवर्ती क्षेत्रमा बिक्री वितरणका लागि छुट्याइने छ । आरक्षलाई सात भागमा विभाजन गरेर काठ सङ्कलन थालिएको छ । मझगाउँको हवाई मैदान क्षेत्र र अर्जुनी क्षेत्रमा काठ सङ्कलन गरेर राखिएको छ । रासस

 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share