बिहिबार, माघ १३, २०७८

भारतसँग थप २२० मेगावाट विद्युत् खरिद प्रस्ताव

१२ असार २०७३, आईतवार ०७:२४

काठमाडौ १२ असार -सरकारले भारतसँग थप २ सय २० मेगावाट विद्युत् आयातका लागि प्रस्ताव गर्ने भएको छ । सोमबार र मंगलबार हुन लागेको नेपाल र भारतबीच भएको बहुचर्चित ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि सचिवस्तरीय र सह–सचिवस्तरीय द्विपक्षीय बैठकमा सरकारले सो प्रस्ताव गर्न लागेको हो ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार आगामी डिसेम्बरदेखिमुजफ्फरपुर–ढल्केबर पहिलो अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आयात भइरहेको ८० मेगावाटबाहेक थप १ सय २० मेगावाट तथा दुहबी–कटैया–कुसाहा र रक्सौल–परवानीपुरमार्फत ५०÷५० मेगावाट विद्युत् थप गर्न नेपालले प्रस्ताव गर्न लागेको छ । दुवै लाइनमार्फत हाल विद्युत् आयात भइरहेको थप सर्किट बनाएर एक सय मेगावाट विद्युत् आयात गरिने र यसबाट आगामी हिउँदमा हुने लोडसेडिङमा कमी आउने लक्ष्य प्राधिकरणको छ ।राजधानी दैनिकमा खबर छ ।

पीटीए कार्यान्वयनका लागि गठित सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक मंगलबार र सह–सचिवस्तरीय संयुक्त कार्य समूहको बैठक सोमबार बस्न लागेको छ । नेपालबाट सचिवस्तरीय

बैठकको नेतृत्व ऊर्जा सचिव सुमनप्रसाद शर्मा र सह–सचिवस्तरीय बैठकको नेतृत्व घिमिरेले गर्न लागेका छन् । नेपाल र भारतबीच ४ कात्तिक २०७१ मा पीटीए भएपछि पहिलो बैठक मंसिर २०७१ तथा दोस्रो बैठक गत माघमा नेपालमा बसेको थियो । यो तेस्रो बैठक हो ।

ऊर्जासचिव शर्माले पीटीए कार्यान्वयन बैठकको मुख्य एजेन्डा भएको बताए । ‘विशेषतः पीटीए कार्यान्वयन नै हो, यसको अलावा दुहबी र रक्सौलमार्फत थप विद्युत् आयात, दोस्रो अन्तरदेशीय प्रसारण लाइनलगायतबारे छलफल हुन लागेको छ ।’ दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रूपमा न्यू बुटबल–गोरखपुरलाई नेपालले प्रस्ताव गरेको छ । त्यसैगरी, पीटीए कार्यान्वयनका लागि दुई देशभित्र परिमार्जन गर्नुपर्ने कानुनी, प्राविधिकलगायतका पक्षबारे समेत छलफल गर्ने कार्यक्रम रहेको छ ।

हाल विद्युत् प्राधिकरणले पहिलो अन्तरदेशीय प्रसारण लाइनमार्फत ८० मेगावाट विद्युत् आयात गरिरहेको छ । गत ८ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा रिमोर्टमार्फत स्विच थिचेर ८० मेगावाट विद्युत् आयातको शुभारम्भ गरेका थिए । ५ महिनाका लागि मात्र सम्झौता भएकामा यो द्विपक्षीय बैठकमा थप एक वर्षका लागि विद्युत् आयातको प्रस्ताव नेपालले राख्न लागेको छ ।

विद्युत् प्राधिकरणले साउनदेखि एक वर्षका लागि अहिले खरिद गरिँदै आएको भारतको नेसनल थर्मल पावर कम्पनी (एनटीपीसी) को प्लान्टबाट व्यापारी कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत नै खरिद गर्न प्रस्ताव गरिएको जनाएको छ ।

प्राधिकरणका अनुसार, विद्युत् प्राधिकरणले आगामी जुलाई, अगस्ट र सेप्टेम्बरमा एनभीभीएनमार्फत ५०÷५० मेगावाट तथा नोभेम्बरदेखि जूनसम्म ७४ मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव गरेको छ । अक्टोबरमा नेपाली चाड दसैंका कारण उद्योग व्यवसाय बन्द हुने कारण सो महिनामा पनि आयात नगर्ने गरी प्रस्ताव गरेको छ ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाटसम्म विद्युत् आयात गरिरहेको नेपालले भारतसँग आगामी सन् २०१६ को अक्टोबरसम्म २ सय मेगावाट र २०१७ को डिसेम्बरबाट ६ सय मेगावाट पु-याइने सम्झौता गरिसकेको छ । हाल भारतबाट ८० मेगावाटसहित ३ सय मेगावाट विद्युत् आयात हुँदै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share