आइतवार, अशोज ३१, २०७८

भारतमा नेपाली सिमेन्टको माग बढ्यो

२२ भाद्र २०७३, बुधबार ०७:२३

काठमाडौ २२ भदौ – महाकाली पारीका दुई गाविस दोधारा–चाँदनीमा यस अघि घर निर्माण, सरकारी तथा निजी भौतिक संरचना निर्माणमा प्रयोग हुने भारतीय सिमेण्टको प्रयोग अहिले पूर्ण रुपमा विस्तापित भई नेपाली उत्पादनले प्राथमिकता पाएको छ । ३ वर्षअघिसम्म निजी तथा सरकारी भौतिक संरचना निर्माणमा भारतीय सिमेण्टको मात्रै प्रयोग हुने गरेकोमा नेपालमा उत्पादित सिमेण्ट दोधारा–चाँदनी पुगेपछि भारतीय सिमेण्ट पूर्ण रुपमा विस्तापित भई नेपाली सिमेण्ट स्थापित हुँदै गएको हो ।

विभिन्न भौतिक संरचना निर्माणका लागि नेपालमै गुणस्तरीय सिमेण्टको उत्पादन हुन थालेपछि कञ्चनपुर जिल्लामा पर्ने दुई गाविस दोधारा–चाँदनीमा नेपाली सिमेण्टको माग बढेको भौतिक संरचना निर्माणमा संलग्न ठेकेदारहरुले बताएका छन् । यी दुवै गाविसमा नेपाली सिमेण्टको माग बढेपछि भारतीय सिमेण्टको ठूलो परिणाममा हुने आयात घटेर नेपाली सिमेण्टको विक्री बढेको ठेकेदार पुष्कर मडैले बताए । पाँच वर्षअघिसम्म भारतीय सिमेण्टमा निर्भर रहँदै आएको दोधारा–चाँदनीमा अहिले भारतीय सिमेण्ट पाइन छाडेको छ ।आर्थिक अभियान दैनिकमा खबर छ ।

नेपालमा उत्पादित प्राय सवै कम्पनीका सिमेण्ट दोधारा–चाँदनी पुग्ने गरेका कारण उपभोक्ताले रोजी–रोजी सिमेण्ट छनौट गर्न पाएको सिमेण्ट विक्रीमा संलग्न व्यवसायीहरुको भनाई छ । सुदूरपश्चिमसँगै जोडिएको मध्यपश्चिममा समेत सिमेण्ट उत्पादक कम्पनी खुलेपछि महाकाली पारीका जनतालाई घर निर्माण, संरकारी संरचना निर्माणका लागि सजिलो भएको अर्का ठेकेदार काशीराम जोशीले बताए । विगतमा हामीले नै नेपाली सिमेण्ट गुणस्तर नभएको भन्दै भारतीय सिमेण्टको प्रयोग गर्दै आएकोमा पछिल्लो समय भारतकोभन्दा राम्रो गुणस्तरको सिमेण्ट नेपालमा उत्पादन हुन थालेपछि सवैको रोजाई नेपालमा उत्पादित सिमेण्ट पर्ने गरेको उनले बताए ।

सुदूरपश्चिममा एउटै सिमेण्ट कारखाना नभएपनि मध्यपश्चिममा उत्पादित सिमेण्ट गुणस्तरीयतामा अब्बल भएका कारण घर निर्माण गर्नेहरुको रोजाईमा पर्ने गरेको छ । पछिल्लो समय स्थानीय उपभोक्ता र ठेकेदारहरुको रोजाईमा नेपाली सिमेण्ट परेपछि गाउँगाउँमा यसको माग बढेको सिमेण्ट विक्रीमा संलग्न व्यवसायीहरु बताउँछन् । तर अझै पूर्णरुपमा आयात निरुत्साहित भने हुन नसकेको महेन्द्रनगरका सिमेण्ट विक्रेता डम्बरदत्त भट्टले बताए । विशेष गरी दोधारा–चाँदनीमा पक्की घर निर्माणको क्रम तीव्र वन्न थालेपछि उक्त क्षेत्रमा सिमेण्टको विक्री तुलनात्मक रुपमा बढ्दै गएको भट्टले बताए । महेन्द्रनगरबाट १० किलोमिटरको दूरीमा रहेको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलवारी नै नेपाली सिमेण्ट बोकेका मालवाहक सवारी पुग्ने गरेका छन् । गाउँसम्म पुग्ने बाटो तथा पुल नभएका कारण झोलुङ्गु पुलवारी नै सवारी साधन रोकेर मोटरसाइकलमा दोधारा–चाँदनी सिमेण्ट पु¥याउनुपर्ने वाध्यता रहेको उनको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share