शनिबार, मंसिर १८, २०७८

बैतडीका स्वास्थ्यकर्मी आन्दोलित, अस्पतालको सेवा ठप्प

२४ जेष्ठ २०७३, सोमबार १४:०७

बैतडी, २४ जेठ ।

जिल्ला अस्पताल बैतडीको आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीलाई आइतबार अपराह्न अभद्र व्यवहार गर्दै कालोमोसो दलेको घटनाको विरोधमा स्वास्थ्यकर्मीले अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन् । सेवा दिने स्वास्थ्यकर्मीको सुरक्षा नभएको भन्दै जिल्ला अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले बताए ।

उनले भने, “ड्युटीमा रहेका डाक्टरमाथि दुव्र्यवहार भएको छ । दोषीमाथि कारबाही नहुँदासम्म सेवा ठप्प पारिनेछ ।” यस्तै, डा अवस्थीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै सोमबार स्वास्थ्यकर्मीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि नारा जुलुस गरेका छन् । पेटमा सात महिनाका तीन बच्चा रहेको अवस्थामा हातखुट्टा सुन्निएर हिँड्डुल गर्न नसक्दा शनिबार जिल्ला अस्पताल बैतडीमा पु¥याइएकी दशरथचन्द नगरपालिका–१ बल्लेककी २४ वर्षीया हिरा भुलको जिल्लामा उपचार हुन नसकेर कैलाली रिफर गर्नुपर्दा डा अवस्थीले एम्बुलेन्स उपलब्ध नगराएको आरोप लगाएर आइतबार कालोमोसो दलिएको थियोे ।

आर्थिक अवस्था कमजोर भएकी हिरालाई असजिलो भएका बेला अस्पतालले आइतबार कैलाली रिफर गरेको तर एम्बुलेन्स नपाएको आक्रोशमा आफन्त तथा गाउँले महिलाले डा अवस्थीलाई कालोमोसो दलेको बताइएको छ । जिल्ला अस्पताल बैतडीका प्रमुख डा अवस्थीका अनुसार आफू आइतबार अस्पतालमै रहेका बेला समूहमा आएका महिलाले एक्कासि आफूमाथि कालोमोसो दलेको बताए । उनले भने, “बिना गल्ती मलाई कालोमोसो दलिएको छ । कारबाहीका लागि अब कानुनी प्रक्रियामा जान्छु ।”

बिरामी महिला रिफरका लागि एम्बुलेन्सको व्यवस्था आफूले नै गरेर कैलाली पठाएको डा अवस्थीको भनाइ छ । “गर्भवती महिलाको पेटमा तीन ओटा बच्चा थियो,” उनले भने, “पेटमा पानी जमेको थियो । एउटा बच्चाको अवस्था सामान्य थिएन ।” कालोमोसो दल्ने पाँच जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share