बाढी र पहिरोमा परी उत्तरी भारतमा मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
१९ असार २०७३, आईतवार ०७:३१देहरादुन (भारत), १९ असार । भारतका उत्तरी क्षेत्रमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार २५ पुगेको छ ।
उद्धारमा संलग्न सरकारी समूहले शनिबार भारतको उत्तर प्रदेश र अरुणाञ्चल प्रदेशबाट थप मृत शरीरको उद्धार गरेको बताएका छन् ।
यसपूर्व बाढी र पहिरोमा परी सो क्षेत्रमा नौजनाको मृत्यु भएको जनाइएको थियो ।
अविरल परेको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परी यस हप्ता मात्रै उत्तराखण्डमा १५ जना र अरुणाञ्चल प्रदेशमा १० जनाको मृत्यु भएको भारतीय प्रहरीले पुष्टि गरेको छ ।
वर्षाका कारण दर्जनौँ मानिस बाढी र पहिरोमा परी बेपत्ता भएको पनि प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार संस्था (पिटिआई)ले शनिबार जनाएको छ ।
दक्षिण एसियामा बाढी र पहिरोमा परी प्रत्येक वर्ष सयौँ मानिसको ज्यान जाने गर्छ ।
सन् २०१३ मा भारतको उत्तरी क्षेत्रमा आएको बाढी र पहिरोमा परी झन्डै छ हजार तीर्थयात्री, पर्यटक तथा स्थानीयको निधन भएको थियो ।
रासस/एएफपी