बजेट पारित भएसँगै राष्ट्रिय सहमतिले मूर्त रुप लिन्छ – अध्यक्ष दाहाल
२४ जेष्ठ २०७३, सोमबार १५:५१पोखरा, २४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेट पारितसँगै राष्ट्रिय सहमतिले मूर्त रुप लिने बताएका छन् ।
प्रेस सेन्टर नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानको कार्यान्वयन, विद्यमान समस्याको समाधान, पुनःनिर्माण आदिका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताएका हुन् । राष्ट्रिय सहमतिमा नै आफूले जोड दिँदै आएको चर्चा गर्दै अध्यक्ष दाहालले नेकपा (एमाले)सँग पनि नीति तथा कार्यक्रम र बजेट पारित भएपछि राष्ट्रिय सहमतिको सरकार बनाउने कुरामा सहमति भएको बताए ।
नौ बुँदे सहमति भएको सबैलाई थाहा भए पनि त्यसभित्र सरकार परिवर्तनको विषय रहेको कुरा पनि अहिले चर्चाको विषय बनेको उल्लेख गर्दै उनले भद्र सहमतिको कार्यान्वयन एकापसको समझदारीका आधारमा हुने बताए ।
‘जेन्टलमेन्ट एग्रिमेन्ट जेन्टलमेन’हरुबीच हुने उल्लेख गर्दै उनले भने – “जेन्टलमेन्ट एग्रिमेन्ट सम्बन्धमा म जेन्टलमेन नै छु, केपीजी पनि जेन्टलमेन नै रहनुहुन्छ भन्ने मेरो विश्वास हो ।”
आफूलाई बहुमतीय प्रधानमन्त्री बन्ने हतारो नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सहमति जसका नाममा जुट्छ उसैले सरकारको नेतृत्व गर्ने धारणा राखे ।
संविधानको कार्यान्वयन चुनौतीपूर्ण रहेको र मधेस आन्दोलनलगायतका समस्याको समाधानका लागि राष्ट्रिय सहमतिको विकल्प नभएको बताए ।
माओवादी पार्टीबीचको एकतासँगै पार्टी अझै सशक्त भएर जाने बताउँदै उहाँले अन्य नेता तथा दलबीच पनि एकता गर्दै पार्टीलाई थप मजबुत बनाउने उल्लेख गरे ।
“विगतमा पनि आफूले राष्ट्रिय सहमति र एकताका लागि जोड दिँदै आएको छु”, उनले भने – “दलहरुबीच समझदारी भएमा जसले नेतृत्व गरे पनि त्यसमा हामी तयार छौँ ।” रासस