बजेटले आर्थिक अनुशासन हिनता र वित्तिय अराजकता सृजना गर्ने
१९ जेष्ठ २०७३, बुधबार १९:४२काठमाडौं, १९ जेठ ।
नेपाली कांग्रेसका नेता डा. रामशरण महतले बर्तमान सरकारले
ल्याएको बजेटले मुलुकमा आर्थिक अनुशासन हिनता र वित्तिय अराजकता सृजना गर्ने बताएका छन् । उनले राष्ट्रको ढुकुटीमा पैसा हुँदा हुँदै विदेशी ऋण लिने कुराले मुल्य बृद्धि र मुद्रा स्फिती गराउने ठोकुवा गरे ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. महतले बजेट सिमित राजनीतिक स्वार्थले ल्याएको र बजेट एक वर्षको भएपनि पाँच दश वर्षको योजना जस्तो कार्यक्रम राखेर ईच्छापत्र जस्तो मात्रै बनाईएको टिप्पणी गरे ।
उनले आफूले विगतमा अलोकप्रिय हुँदा हुँदै गरेको भ्याट लागु गर्ने, आयकर, पुजिगत लाभ कर, बैंकिङ क्षेत्रमा निजी क्षेत्रको प्रवेश गराउने र दुर सञ्चार क्षेत्रमा निजी लगानी खोल्ने निर्णयका कारण आन्तरिक राजस्वमा बृद्धि भएको भन्दै कसैलाई खुसी पार्न बाड्ने कुरा ठूलो नभएको तर्क गरे ।
उनले सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षामा आएका कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता भएको भन्दै सबै जनताको स्वास्थ्य विमा, एक गाँउ एक डाक्टर, एमडी निशुल्क अध्ययन गर्न पाउने जस्ता कुराहरु पुरानै कार्यक्रम भएको दावी गरे ।
डा. महतले बजेटमा आएका पूर्वाधारमा लगानी गर्ने कुरा र विगतका कार्यक्रमको निरन्तरता ठिकै भएको भन्दै पार्टीका केही सभासदहरुले नबुझेका कारण आफ्नो आलोचना गरेको बताए । बजेटका विषय संसदमा प्रस्तुत गर्नु अघि नै सार्वजनिक भएको विषयलाई स्पष्ट पार्दै उनले अहिले जस्तो विभिन्न शिर्षक उपशिर्षकहरुको रकम हजार सम्म मिल्ने गरी कहिल्यै पनि बाहिर नआएको दावी गरे ।
एक फरक प्रशंगमा उनले नेपाली कांग्रेस सरकार परिवतर्नको खेलमा नलाग्ने स्पष्ट पारे । साक्षात्कारमा डा. महतले यो सरकार बदलिए सत्तारुढ गठबन्धन विचको आन्तरिक विरोधाभाषले नै बदलिने दावी गर्दै मुलुकलाई अस्थिरता तर्फ धकेल्ने गरी सरकार परिवर्तनको खेलमा आफूहरु नभएको बताए ।