शनिबार, मंसिर १८, २०७८

प्रहरी र शिक्षा कार्यालयको निगरानीले शैक्षिक सुधार

२० जेष्ठ २०७३, बिहीबार १६:३८

(हेमन्त केसी)

जाजरकोट, २० जेठ । विगत वर्षमा जाजरकोटका विद्यालय जाने उमेरका बालबालिका विद्यालयमा नभएर डोल्पाका विभिन्न यार्सागुम्बा हुने पाटनतिर भेटिने गर्दथे । केही शिक्षकहरु यार्सागुम्बाको व्यापार गर्न डोल्पाकै पाटनमा भेटिने गरेको तीतो यथार्थ रहेको थियो ।
यसपालि जाजरकोटका सामुदायिक विद्यालयमा विद्यार्थी, शिक्षक डोल्पाको यार्सागुम्बा सङ्कलन गर्ने पाटनमा होइन, दैनिक शिक्षा आर्जन गर्ने थलो विद्यालयमा भेटिने गरेका छन् । झोलामा चिउरा, चाउचाउ, अनि हातमा यार्सागुम्बा निकाल्ने कुटो नभएर किताब र कलमका साथ विद्यालयमा भेटिएका उनीहरु भेटिन्छन् । यो सबै जाजरकोटका स्थानीयवासीको गरिबी हटेर नभई जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय यसका मातहतमा रहेका प्रहरी चौकीको विशेष योजनाले गर्दा यस्तो भएको हो ।
यस पटक शिक्षकको यार्सागुम्बाको व्यापार पनि भएन, विद्यार्थीको यार्सागुम्बा बिक्री गर्ने योजना पनि सफल भएन । सम्झौता भयो त शिक्षा दिने र लिने मात्र । राज्यको लगानी गरेको करोडौँ रकम खेर जान नदिन र बालबालिकाको पढ्न पाउने अधिकार हनन हुन नदिन जिशिका र प्रहरीको अभियानले गर्दा जाजरकोटका विद्यालयमा अहिले विद्यार्थीको उपस्थिति बाक्लो रहेको छ । यहाँको प्रहरीले विद्यालय उमेरका बालबालिकालाई डोल्पाका यार्सा पाटनमा पठाएर बालश्रम गरेको पाइएमा कारबाही गर्ने बताएपछि अभिभावकलाई आफ्ना छोराछोरीलाई विद्यालयमा पठाउन दबाब परेको हो ।
डोल्पा जाने मुख्य नाकामा रहेका प्रहरी चौकीमा बालबालिकालाई रोकेर घर फिर्ता गर्ने अभियानसमेत प्रहरीले चलाएको छ ।
सदरमुकाम भित्रिने, बाहिरिने नाकामासमेत प्रहरीले जाजरकोटका शिक्षकको निगरानी गर्ने गरेको छ । प्रहरीले सदरमुकाम आउने, अनि सदरमुकामदेखि बाहिरिने शिक्षकको बिदासमेत हेर्ने गरेको छ । बिदामा रहेका शिक्षकको नाम कार्यालयमा राख्ने र बढी बिदामा बसेको थाहा पाएमा तलबसमेत काट्न जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराउने गरेको छ ।
बिदा नलिएर आफूखुसी विद्यालय छाडेर व्यक्तिगत काममा जाने शिक्षकलाई तत्काल प्रहरीले जिल्ला शिक्षा कार्यालयमा बुझाउने गरेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । त्यस्तै जिल्लाका सबै विद्यालयमा गएर शिक्षकको हाजिरसमेत हेर्ने प्रहरीले बताएको छ । जिल्ला शिक्षा कार्यालयले गृहमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा २०७३ लाई शैक्षिक सुधार वर्ष घोषणा गरेलगत्तै यस्तो कदम चालेको हो ।
जिल्लाको शैक्षिक सुधार र कामचोर शिक्षकलाई तह लगाउन जिल्ला शिक्षा कार्यालय यस्तो अभियान चलाउन बाध्य भएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए । यार्सागुम्बा सङ्कलन गर्ने मौसममा यहाँका अधिकांश विद्यार्थी डोल्पा जाने गरेका कारण वैशाख, जेठ र असार १५ सम्म बर्सेनि पढाइ रोकिँदै आएको थियो । यो वर्षदेखि सरोकारवाला निकायको निरन्तर खबरदारी, दबाबका कारण अहिले यहाँका विद्यालयमा पढाइ जारी रहेको छ ।
यो वर्षदेखि जिल्ला शिक्षा कार्यालयले जनताको घरदैलोमा पुगेर शिक्षा क्षेत्रका गुनासो सुन्ने अभियान थालेको छ । जनताका गुनासा सुनेर आवश्यक कदम जिल्ला शिक्षा कार्यालयले चाल्ने गरेको छ । जनताको घरदैलोमा गरिएको अन्तक्र्रिया जिल्लाका सामुदायिक रेडियोबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्थासमेत मिलाइएको छ । शिक्षक छनोट गर्दा स्रोत केन्द्रमा हुने परीक्षाहरु जिल्ला शिक्षा कार्यालयमा गर्ने व्यवस्था मिलाइएको छ ।
बाहिर परीक्षा गर्दा अनियमितताका गुनासा आउन थालेपछि कार्यालयमा परीक्षा गर्ने व्यवस्था मिलाइएको जिशिअ सिंहले बताए । योभन्दा अगाडि विद्यालयमा नियमित नपढाउने एक सय ५० भन्दा बढी शिक्षकको तलबसमेत जिल्ला शिक्षा कार्यालयले काट्ने तयारी गरेको छ । शिक्षा विभागमा छ वर्षदेखि विद्यालयमा नपढाएर तलब खाने शिक्षकमाथि कारबाहीका लागि सिफारिससमेत गरी पठाइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share