बिहिबार, माघ १३, २०७८

प्रधानमन्त्री राजीनामाका बिषयमा एमालेमा मतभेद, ओलीको विपक्षमा बहुमत

३० असार २०७३, बिहीबार १७:१६

काठमाडौं, ३० असार । संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने अडान लिइरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीभित्र अल्पमतमा पर्ने अवस्थामा पुगेका छन् । पार्टीको स्थायी कमिटीमा राजीनामा पक्षधरहरुको बहुमत पुग्ने देखिएपछि अध्यक्ष ओलीले पार्टीको बैठक समेत बसाएका छैनन् ।

अनौपचारिक बैठकमा अधिकांश नेताले माओवादीले समर्थन फिर्ता लिइसकेको अवस्थामा अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु उपयुक्त हुने सुझाव दिएका थिए । तर, ओली पक्षका नेताहरुले भने अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले पुनः स्थायी कमिटीको बैठक बोलाएर छलफल गर्ने आश्वासन नेताहरुलाई दिएका थिए । प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएर संसदीय नैतिकता प्रदर्शन गर्नुपर्ने मत राख्नेहरुमा उपाध्यक्ष वामदेव गौतम अग्रपङ्तीमा छन् । त्यसैगरी पार्टीका पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि यस्तो बेलामा ‘टस्सल’ गर्नुको साटो प्रधानमन्त्रीले पदबाट राजीनामा दिनु उपयुक्त हुने पक्षमा छन् ।

अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्री ओलीले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नु उपयुक्त हुने पक्षमा रहेका छन् । तर, राजीनामा गर्नेबेलामा प्रधानमन्त्रीले संसदमा आफ्नो सारगर्भित मन्तव्य दिएर एमालेले सरकार सञ्चालनका बेला गरेका राम्रा कामहरुको रेकर्ड गराउनुपर्ने एमाले शीर्ष नेताहरुले सुझाव दिएका थिए । पार्टीका उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले समेत प्रधानमन्त्रीले राजीनामा दिएर सहज निकासको बाटो अपनाउनुपर्ने मत पार्टीमा राखेको बताइएको छ । केपी ओली पक्षकै मुकुन्द न्यौपाने लगायतका नेतासमेत ओलीले राजीनामा दिँदा राम्रो हुने पक्षमा उभिएका छन् । स्थायी कमिटीका अधिकांश नेताहरु प्रधानमन्त्रीले राजीनामा दिँदा राम्रो संस्कार प्रदर्शन हुने पक्षमा उभिएका छन् । तर, प्रधानमन्त्रीले यसबाट भाग्नकै लागि स्थायी कमिटीको बैठक नबोलाई आफूखुशी कदम चालेको भन्दै यसले एमालेको छविमाथि नकारात्मक असर पार्ने भन्दै ओलीको बिरोधमा अधिकांश नेताहरु देखिएका छन् ।

संविधान र कानूनले नयाँ सरकार गठन गर्न मिल्दैन भन्दै खोचें थाप्ने र एक–दुई महिना सरकारको आयु लम्ब्याउने खेलमा लाग्न नहुने सुझाव एमालेका शीर्ष नेताहरुको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा प्रधानमन्त्री बनेका ओलीले माओवादीसँग गरेको ९ बुँदे समझदारी र ‘जेन्टलमेन एग्रिमेन्ट’मा प्रतिवद्ध भइदिएको भए सरकार नढल्ने वामदेव गौतम पक्षका नेताको तर्क छ । तर, अध्यक्ष ओलीको कार्यशैलीगत कमजोरीका कारण माओवादी पार्टी सरकारबाट बाहिरिएको विश्लेषण एमालेका एकथरि नेताहरुले गरेका छन् । अहिलेको अवस्थामा सार्वजनिकरुपमा बोल्दा ओली पक्षले सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउने डरले गर्दा माधव नेपाल पक्ष मौन बस्ने र हेर्ने सोचमा देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share