बिहिबार, माघ १३, २०७८

प्रदेश संरचना अन्तर्गत जिल्लाहरुको विभाजन

५ असार २०७३, आईतवार ०९:५७

pardesh

जिल्ला परिचय
जिल्ला — ताप्लेजुङ

१. ताप्लेजुङ जिल्लाको नामाकरण

ताप्लेजुङ जिल्ला नेपालको परिवर्तित राज्य संरचना अन्तर्गत प्रदेश नम्बर एक र विद्यमान संरचना अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको उत्तरमा अवस्थित एक हिमाली जिल्ला हो । ताप्लेजुङ जिल्लाको नामाकरण बारेमा एकीन जानकारी नपाइए पनि लिम्बु भाषीका अनुसार मध्यकालीन समयमा ‘ताप्ले’ नाम गरेका राजाले यस क्षेत्रमा शासन गर्ने गर्दथे । लिम्बु भाषामा ‘जुङ्’ को अर्थ किल्ला वा सैनिकले घरेको किल्ला हुने भएकाले यस जिल्लाको नाम ताप्लेजुङ्ग रहन गएको हो भन्ने भनाइ व्याप्त छ । कतै कतै ताप्लेजुङ जिल्लाको नाम किराँत भाषाको ‘ताप्लिङचुङ’ शब्दबाट आएको पनि मान्ने गरिन्छ । ऐतिहासिक किराँत राजा ‘ताप्ले’ को ‘चुङ’ अर्थात किल्ला (किराँत भाषामा) भएकोले यस जिल्लाको नाम ताप्लेजुङ्ग रहन गएको भन्ने मान्यता पनि त्यतिकै छ ।

२. संक्षेपमा ताप्लेजुङ जिल्ला

pardesh 2

३. ताप्लेजुङ जिल्लाका गाविसहरू

१.आँखोप
२. आम्बेगुदिन
३. एखाबु
४.ओलङ्चुङ गोला
५. कालीखोला
६. खाम्लुङ्ग
७. खेजेनिम
८. खेवाङ्ग
९. खोक्लीङ
१०. चाँगे
११. चाक्सीबोटे
१२. डुम्रिसे
१३. ढुंगेसाँघु
१४. तापेथोक
१५. तिरिङ्गे
१६. तेल्लोक
१७. थिङ्गलाबू
१८. थुकिमा
१९. थुम्बेदिन
२०. थेचम्बू
२१. नाङखोल्याङ्ग
२२. नाल्बू
२३. निगुरादिन
२४. पापुङ्ग
२५. पेदाङ्ग
२६. फाकुम्बा
२७. फावाखोला
२८. फुरुम्बू
२९. फुलबारी
३०. मामाङखे
३१. मेहेले
३२. याम्फुदिन
३३. लिङ्गतेप
३४. लिमखिम
३५. लिम्बुदिन
३६. लिवाङ
३७. लेलेप
३८. साँघू
३९. साँवा
४०. सादेवा
४१. सान्थाक्रा
४२. साब्लाखू
४३. सावादिन
४४. सिकैंचा
४५. सिनाम
४६. सुरुमखिम
४७. हाङ्गदेवा
४८. हाङ्गपाङ्ग

४. मुख्य हिमालहरू
यस ताप्लेजुङ जिल्लाको उतरी भागमा कंचनजंघा हिमश्रृंखला पर्ने भएकाले यस जिल्लामा ७००० मिटर भन्दा अग्ला धेरै हिमालहरु रहेका छन । यस जिल्लामा रहेका प्रमुख हिमालहरु यसप्रकार रहेका छन ।

pardesh3

उपरोक्त हिमालका अलावा नेपालको सबैभन्दा धेरै ताल तलैया तथा हिमताल भएको जिल्लाको रुपमा ताप्लेजुङ्ग जिल्लालाई चिन्ने गरिन्छ । विश्वको सबैभन्दा लामो र ठुलो ग्ल्यासियर भएको, धेरै हिमताल (लगभग ३०० वटा) भएको र, नेपालमा सर्वप्रथम सुर्यदय हुने जिल्लाको रुपमा पनि यस जिल्लालई चिन्ने गरिन्छ ।

५. जैविक विविधता
ताप्लेजुङ जिल्ला ७७७ मीटरदेखि ८,५८६ मीटरसम्मको उचाई सम्म फैलिनुका साथै जैबिक विविधताको दृष्टिले भरिपूर्ण छ । यहाँ ५८ प्रजातिका बन्यजन्तु २५३ किसिमका चराहरू, विभिन्न प्रकारका सरिसृपहरू, उभयचरहरू, पुतलीहरू ११ किसिमका सल्लाहरू, १२७३ प्रजातिका फूलफुल्ने बिरुवाहरू, २४ किसिमका गुराँसहरू, ६९ प्रजातिका सुनगाभाहरु पाइन्छन् । जिल्लाको कूल क्षेत्रफलको ३९.८५ प्रतिशत जङ्गलले ढाकेको छ । जैविक विविधतालाई मध्यनजर गर्दै बिक्रम सम्वत २०३९ देखि हाल सम्म जिल्लाका २० गाविसमा ६५८.५ हेक्टरमा बृक्षारोपण भैसकेको तथ्यांकले देखाउछ । विषम हावापानीको कारणबाट यस जिल्लामा उष्ण प्रदेशीय सदावहार जंगलदेखि लिएर ३,५०० मीटर माथिको उचाईमा लेकाली वनस्पति, झाडी पोथ्रा जस्ता रुखहरू पाइन्छ भने ५,००० मीटर भन्दा माथिको उचाईमा हर हमेशा हिउँले ढाकेको हुँदा वनस्पति प्राय हुदैनन ।
वन्यजन्तु र चराचुरुङीहरु अन्र्तगत यस जिल्लामा विश्वका दुर्लभ हिँउचितुवा, हिमाली भालु, हाब्रे (रेडपाण्डा), कस्तुरी, मृग, चितुवा, भालु आदि प्रसस्तै पाइन्छन् । त्यसैगरी डाँफे, मुनाल, मयुर, कालिज, चिमिले, काँडे भ्याकुर, हुचिल, गिद्दि आदि दुर्लभ चराचुरुङ्गीहरु पनि प्रसस्तै पाइन्छन् ।
ताप्लेजुङ जिल्लामा पाईने महत्वपुर्ण जडिवुटिहरुः पाँच औले, विख्मा, कुट्की, चिराइतो, सर्मागुरु, पदमचाल, पाखनवेद, टिमुर, यार्सागुम्बा, अलैची, चिराइतो आदि रहेका छन । खोज र अन्वेषणको कमीले धेरै जडिबुटिहरु प्रकाशनमा आएका छैनन । अलैची र चिराइतोलाई यस जिल्लाको मुख्य आयस्रोतका रुपमा हेरिन्छ ।

६. प्रमुख नदीनालाहरू
ताप्लेजुङ जिल्लाका मुख्य नदीहरूमा तमोर र कावेली हुन । त्यस्तै अन्य खोलाहरूमा मेवाखोला, मैवाखोला, याङ्माखोला, फावाखोला, घुन्साखोला, कालीखोला, हेल्लोक, सिस्नेखोला, सोबुवाखोला, फुंगुवाखोला आदि हुन । प्रमुख हिमनदीहरूमा कञ्चनजङ्घा हिमनदी, कुम्भकर्ण हिमनदी, तमोर हिमनदी, यलुङ हिमनदी रहेका ।

७. समाज तथा संस्कृति
ताप्लेजुङ जिल्ला लिम्बुहरुको मुख्य बस्ति भएको जिल्ला भएपनि यो बहुजाति, बहुभाषी, बहुसांस्कृति भएको जिल्लाको हो । यस जिल्लाको तल्लो भेगमा ब्राम्हण र क्षेत्री जातिहरुको बसोबास बाक्लो रहेको छ । उच्च पहाडी भेक ओलाङचुङगोला, घुन्सा, याङमा, तोक्पेगोल, शेर्पा त मध्य भागमा लिम्बुहरुको बस्ति बाक्लो छ । यस जिल्लामा बस्ने सबै समुदायका आ आफ्नै भाषा, संस्कार, संस्कृति, धर्म चालचलन, परम्परा, भाष,ा लिपी, चाडपर्व, भेषभुषा, खानपिन रहेका छन ।
यहाँका शेर्पा समुदायले चौरी पालन, छुर्पी, घ्यु उत्पादन र गलैचा व्यापार गर्दछन । ङ्युङ्ने, ठुक्पाछेसी, फुटुक, ग्यासो शेर्पाका प्रमुख संस्कार चाडपर्व हुन । बख्खु, दोचा, आङ्गी, पाङदेन, केतेन शेर्पाका मुख्य पोसाक मानिन्छन । रेजी, हारी, काउ, सुकुम, पोसिल शेर्पाजातिले लगाउने गरगहना हुन । लोकनाचमा स्यार्बो शेर्पा समुदायमा प्रख्यात छ । त्यसैगरी लिम्बु जातिको धान नाच, च्याब्रुङ नाच प्रख्यात छन । चाडपर्वमा लिम्बु जातिले चासोक तङनाम, ककथेक्वा प्रमुख रुपमा मनाउछन । भेषभुषामा तागा, मेख्ली, गरगहना, साम्याङफुङ लगाउदा गर्व गर्दछन । खानपिनमा ताङवा र लोकगीतमा पालमले लिम्बु जातिलाई पृथक पहिचान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । यस जिल्लाका अन्य जातिहरुमा गुरुङ, मगर, राई, तामाङ, सुनुवार, भुजेल, नेवार, कामी, दमाई, सार्की, आदि रहेका छन् ।

८. जात्रा र हाट बजार
ताप्लेजुङ जिल्लामा साप्ताहिक, पाक्षिक, मासिक र बार्षिक रुपमा नियमित लाग्ने जात्रा र हाट बजारहरु यस प्रकार रहेका छन ः
क) प्रत्येक शनिवार र मंगलबार जिल्ला सदरमुकाममा (तोक्मेडाँडा)
ख) प्रत्येक विहीबार जिल्ला सदरमुकाममा (काहुले हाट)
ग) प्रत्येक वर्ष लाखे पूर्णिमामा लाखेजात्रा (जिल्ला सदरमुकाममा)
घ) प्रत्येक वर्ष पौष १ गते देखि ५ गते सम्म पुषेमेला (दोभानमा र चाँगेमा)
ङ) प्रत्येक वर्ष माघ १ गते देखि ३ गते सम्म माघे मेला (सिंवामा र लिमखिममा)
च) प्रत्येक औंसी र पूर्णिमा रामदुवाली हाट (खाम्लुङमा)
छ) प्रत्येक चतुर्दशीमा चतुरे हाट (चाँगेमा)
ज) प्रत्येक महिनाको १ गते (सिनाममा)

९. धार्मिक तथा पर्यटकिय स्थलहरु
क) तिम्बुङ पोखरी
शेर्पा भाषामा तिम्बुङ भनेको बन्दुक पड्कँदा निस्केको आवाजलाई जनाउँछ । पोखरीमा बन्दुक पड्केजस्तो आवाज सुनिने भएकाले यसको नाम तिम्बुङपोखरी रहेको बताइन्छ । तर किरात लिम्बु भाषामा तिम्बु भन्नाले “पोखरीमा टिल पिल हुने गरी पानी हुनु वा भरिनु” भन्ने हुन्छ । र उक्त पोखरी भरी पानी जमेको वर्ष गाँउघरमा अन्नपातको उब्जनी राम्रो हुने कुरामा स्थानीय बासीहरुको गहिरो विश्वास छ । ३०० भन्दा धेरै हिमतालहरु मध्ये तिम्बुङ पोखरी यस जिल्लाको एक प्रमुख आकर्षको केन्द्र मानिन्छ । तिम्बुङ पोखरी ताप्लेजुङ्ग जिल्ला कालिखोला गा.वि.स. देखि पाँचथरको फलैंचा गाउ हुदै भारतको सिक्किमको सिमानासम्म फैलिएको छ । सिमसार सम्बन्धी जैविक विविधताले भरिपूर्ण यो पोखरी कन्चनजङ्गा संरक्षण क्षेत्रभन्दा बाहिरै रहेको यो पोखरी समुद्र सतह देखि ४,४८१ मिटर उचाइमा छ भने पोखरीको उत्तर–दक्षिण लम्बाइ ४६६ मिटर र पूर्व–पश्चिम चौडाइ १४५ मिटर छ । पोखरी आसपासमा तिम्बुङपोखरी अलावा कान्छीपोखरी, खोपीपोखरी, दूधपोखरी, छारेपोखरी, ममुरपोखरी, नीरपोखरी, हाँसपोखरी, लक्ष्मीपोखरी, हाँडीपोखरी, तावापोखरी लगायत १८ पोखरी रहेका छन् । तिम्बुङ पोखरी असोजदेखि वैशाखसम्म हिउँले छोपिन्छ । कुहिरोले छिनमै छोपीने र छिनमै उघ्रने यस पोखरीको बिशेषता मानिन्छ । पोखरीको पानी रिम्बुखोला हुँदै बग्ने गर्छ ।
ख) फुङफुङे झरना
पर्यटकीय र धार्मिक दृष्टिकोणले प्रसिद्ध र सुन्दर फुङ्फुङे झरना ताप्लेजुङ जिल्लाको साँवा गा.वि.स. अन्र्तगत पर्छ । ३०० मिटर भन्दा अग्लो चट्टानको कापबाट फुङफुङ गर्दै पानी तल झर्ने भएकाले यो झरनाको नाम फुङफुङे झरना रहन गएको भन्ने विश्वास छ । फुङफुङे झरनाको फेदमा फुङफुङे देवीको पूजास्थल रहेकाले यो झरना दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । झरना पानी भुईमा झरेपछि मेवा खोलामा गएर मिसिन पुग्छ ।
ग) पाथिभरा देवी
समुद्र सतहबाट ३७९४ मिटरको उचाईमा रहेको पाथीभरा मन्दिर क्षेत्र ताप्लेजुङ जिल्लाको धार्मिक पर्यटकिय तथा जैविक विविधताको दृष्टिकोणले प्रसिद्ध छ । यो मन्दिर ताप्लेजुङ बजार देखि पूर्वोत्तर करिब १७ किलोमिटरको दुरिमा पर्दछ । अन्नले भरिएको पाथीको आकृतिमा देखिने शिखरमा मन्दिर रहेकोले यो स्थललाई पाथीभरा भनिएको जनश्रुती पाईन्छ । साथै पाथिभरा देबिको मन्दिर क्षेत्रमा हमेशा ० डिक्री सेन्ट्रिग्रेट तापक्रम रहने भनाई पनि व्यापक छ । यो मन्दिर क्षेत्रबाट कंचनजंघा लगायत नेपालका धेरै हिमश्रृंखला र भारतको दार्जि्लिङ समेत नजिकबाट अवलोकन गर्न सकिन्छ । पाथिभरा देबीको दर्शनका लागि नेपाल, भारत र भुटान सम्मका तिर्थयात्रीहरु आउन गर्दछन ।
घ) दिकि छ्योलिङ्ग गुम्बा
ताप्लेजुङ्ग जिल्लाको अस्तित्व बोकेको ओलाङचुङगोला गा.वि.स.मा रहेको ४०० वर्ष भन्दा पुरानो दिकि छ्योलिङ्ग गुम्बा पनि एक धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल हो । योगुम्बा आजभन्दा ४०० वर्ष पहिला लामा एसेले बनाएका थिए भन्ने मान्यता रहेको छ । यो गुम्बामा ऐतिहासिक बिद्धका मुर्तिहरु, अखण्ड बत्ती रहेका छन । यो गुम्बा ओलाङचुङ गोलादेखि केहि माथि पहाडमा रहेको छ । यो ठाँउ चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने भएकोले व्यापारिक बजारको रुपमा पनि लिइन्छ ।

ङ) श्री चन्डेस्वर महादेब धाम तथा श्री महा बौद्ध ठिशोङ गुम्बा
ताप्लेजुङ जिल्लामाा रहेको श्री चन्डेस्वर महादेब धाम तथा श्री महा बौद्ध ठिशोङ गुम्बा पनि अत्यन्तै प्रख्यात छ । एक हो । यो धाम ताप्लेजुङ् नगर पालिकासँग जोडीएको हाङ्देवा गा बि स वार्ड नम्बर २ स्थित सिद्धिडाडामा पर्दछ । यस धामलाई हिन्दू र बौद्ध धर्मको मुख्य सँगम स्थल मानिन्छ । बि स १९८५ साल तिर यहाँ महादेबको थान पत्ता लागे मानिन्छ । महादेव पत्ता लागे पछी पूजा, अचर्ना गर्ने बाला चतुर्दशी मेला लाग्ने गरे पनी २०३९ साल यता भने यो प्रचलन लोप हुदै गएको छ । धाम ८ रोपनीको क्षेत्रफलमा फैलिएको छ । यहाँ श्री चन्डेस्वर महादेव मन्दिर, श्री चन्डिका देबी मन्दिर, श्री जलेस्वर महादेव मन्दिर, श्री मृत्युन्जय महादेव मन्दिर, श्री पथिभरा देबी मन्दिर, श्री सरस्वती देबी मन्दिर र नाग मन्दिर गरी ७ वटा मन्दिरहरु रहेका छन भने एक महाबौद्ध ठिशोङ गुम्बा रहेकोछ । यहाँ एक आर्कषक काल भैरव गुफा रहेकोछ । साथै यहाँ रहेका तिनवटा रमणीय पोखरीहरुः जलेस्वर शेसनाग पोखरी, गंगा माई पोखरी र कमल पोखरीले यसको आकर्षण अरु बढाएको छ । आगन्तुक दर्शनार्थिहरुका लागि तिन वटा सुन्दर प्रवेश द्वारहरु रहेकाछ्न ।
अन्य धार्मिक स्थलहरु –
१. चण्डेश्वरी धाम (सिद्धि डाँडा),
२. नागेश्वरी धाम (फुङलिङ),
३. सिदिङ्मा देवी (साप्लाखु),
४. फक्तालुङ (कुम्भकर्ण)

१०) ताप्लेजुङ कसरी पुग्ने ?
क) हवाई यातयातः
काठमाडौ – ताप्लेजुङ
विराटनगर – ताप्लेजुङ
ख) सडक यातायातः
बिर्तामोड, झापा, इलाम, फिदिम, फुङिलङ बजार (मेची राजमार्ग २३७ कि मी)
धरान, सुनसरी, धनकुटा, हिले, बसन्तपुर (कोशीराजमार्ग ९२ कि मी)
ग) पैदल यात्राः बसन्तपुर (तेह्राथुम), गुफा पोखरी, गोर्जा, दिभान, ताप्लेजुङ्ग फुङ्लिङ्ग बजार करीब २ दिन

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share