मङ्लबार, असार २१, २०७९

प्रदेशको राजधानी पोखरा बनाउने एमाले निर्णय

२३ कार्तिक २०७३, मंगलवार ०६:४१

कावासोती, २३ कात्तिक । नेकपा (एमाले) प्रदेश नंं ४ ले पोखरालाई प्रादेशिक राजधानी बनाउने निर्णय गरेको छ ।

कावासोती–१५ थारु होमस्टे गाउँ अमलटारीमा भएको ४ नं प्रदेशको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न साेमबार आयोजित पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य तथा उक्त प्रदेशका प्रचार विभाग प्रमुख जगत् विश्वकर्माले सो जानकारी दिए ।

बैठकले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान’ नारासहित आगामी मङ्सिर १ देखि फागुन मसान्तसम्म जनपरिचालन, मतदाता शिक्षा, जनवर्गीय सङ्गठनको भेला तथा अधिवेशन गर्ने, घर फर्क तथा पार्टी प्रवेश अभियान र प्रदेश नंं ४ को समग्र विकास निर्माण र समृद्धिका लागि दीर्घकालीन गुरुयोजना तयार गर्न विज्ञको भेला मङ्सिरभित्र गर्ने निर्णय गरेको छ । साथै, बैठकले प्रदेश कमिटीका संयोजकदेखि सदस्यहरुको कार्यविभाजनसमेत गरेको छ ।

यसैगरी, बैठकले पार्टी स्कुल विभागमा संयोजक किरण गुरुङ, सङ्गठन विभाग प्रमुखमा गणेश तिमिल्सेना, प्रचार विभाग प्रमुखमा जगत् विश्वकर्मा, स्थानीय विभाग प्रमुखमा मायानाथ अधिकारी र मोर्चा सङ्गठनका प्रमुखमा पद्मा अर्याल र आर्थिक विभाग प्रमुख तथा कार्यालय सचिवमा मानबहादुर जिसीलाई तोकेको छ ।

बागलुङ जिल्लामा रहेको ३२० मेगावाटको उत्तरगङ्गा जलाशययुक्त विद्युत् आयोजना र पोखरामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिटो सम्पन्न गर्न पनि बैठकले माग गरेको छ ।

पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश संयोजक किरण गुरुङले संविधानको सर्वोच्चता स्वीकार गरेर मात्र अगाडि बढ्नुपर्ने बताए ।  रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share