प्रतिबद्धता पूरा गर्दै नेता कार्की
२१ कार्तिक २०७३, आईतवार १४:१३काठमाडौँ, २१ कात्तिक । निर्वाचनका बेला जनतालाई आश्वासन बाँड्ने तर निर्वाचन जितेपछि गाउँ नफर्कने प्रवृत्ति विपरीत जनतासामु गरिएका वाचा पूरा गर्न नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की तल्लिन छन् ।
जनतासामु गरिएका वाचा अनुरुप गाउँमा स्वास्थ्य र शिक्षाको पूर्वाधार विकास गरी जनतालाई राहत दिन लागिपरेको नेता कार्कीले बताए । भोजपुरको उत्तरी दिङ्लामा निर्मित १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्लाको उत्तरी क्षेत्रमा स्वास्थ्य सेवाको अभावका कारण धेरै बालबालिका र गर्भवतीले अनाहकमै ज्यान गुमाउनुपरेको छ । नेपालका लागि तत्कालीन भारतीय राजदूत राकेश सुद र नेता कार्कीले संयुक्त रुपमा पाँच वर्ष अगाडि दिङ्ला (हालको षडानन्द नगरपालिका) मा रु तीन करोडको लागतमा सो अस्पतालको शिलान्यास गरेका थिए ।
उत्तरी दिङ्लाका समाजसेवी शम्भु अधिकारीले नेताले वाचा गरे अनुरुप गाउँमा विकास निर्माणमा फर्केकामा खुसी व्यक्त गर्दै अन्य नेताका लागि उदाहरणीय काम भएको बताए । नेताले घोषणा गरेअनुसार सुविधासम्पन्न विद्यालय र अस्पताल निर्माणले जनतामा खुसी छाएको उनले उल्लेख गरे ।
अस्पताल निर्माणसँगै भोजपुरका– १४ गाविसका नागरिकले प्रत्यक्ष सेवा पाउने छन् । यस्तै कार्कीले चुनावी घोषणापत्रमा उल्लेख गरेको झ्याउपोखरीको शारदा मावि र भोजपुरको विद्योदय मावि बनी सञ्चालनमा आइसकेको छ । ती विद्यालय क्रमशः रु तीन करोड र रु एक करोडको लागतमा बनेका हुन् । रासस