‘पूर्व तयारीबिनाको अक्षराङ्क प्रणालीले अन्योलता बढायो’
१३ असार २०७३, सोमबार १८:४६काठमाडौँ १३ असार । प्रवेशिका परिक्षामा पूर्व तयारी बिना सरकारले अक्षराङ्क (गे्रडिङ) प्रणाली लागू गरेर विद्यार्थी र अभिभावकमा अन्योलता बढाएको सरोकारवालाले बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले साेमबार आयोजना गरेको साक्षात्कारमा एनप्याब्सनका पूर्व अध्यक्ष एवम् सांसद गीता राणाले ग्रेडिङ पद्धति विद्यार्थीले आफ्नो क्षमताको मूल्याङ्कन आफैँ गर्ने पद्धति भए पनि यसले शिक्षाको गुणस्तर वृद्धि नहुने बताए । उनले भने, “ग्रेडिङ्ग प्रणाली कक्षा ९ देखि १२ सम्म चार वर्षको हुनुपर्नेमा एक वर्षको मात्रै भएकाले यसले राम्रो नतिजा दिन सक्दैन ।”
शिक्षा मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीले मन्त्रालयले प्राविधिक शिक्षामा ग्रेडिङ पद्धतिलाई लागू गरेर अनुभवपछि मात्रै प्रवेशिका परीक्षामा लागू गरेको भन्दै विद्यार्थीको सिकाइको मूल्याङ्कन गर्ने पद्धति बसेको बताए ।
उच्च माध्यामिक शिक्षक सङ्घ (हिसान)का अध्यक्ष रमेश सिलवालले गे्रडिङ पद्धतिमा गृहकार्य नपुग्दा यसले अन्योलता बढाएको भन्दै ‘डि’ र ‘इ’ ग्रेड पाउनेले पढ्न नपाउने व्यवस्थाले समस्या उत्पन्न गर्ने बताए ।
एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले पहिले अभ्यास नै नगरी हचुवाको भरमा गे्रडिङ प्रणाली लागू गरिएको भन्दै ग्रेडिङ प्रणाली कक्षा ९ बाटै ग्रेडिङ प्रणाली हुनु आवश्यक रहेको बताए ।
अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षालाई बजार र श्रमसँग जोडेर अगाडि बढाउनु आवश्यक रहेको बताए । रासस