बिहिबार, माघ ६, २०७८

पुरचौडीमा इलाका प्रशासन स्थापना हुने

१४ जेष्ठ २०७३, शुक्रबार ११:४४

बैतडी, १४ जेठ ।
सरकारी सेवालाई सेवाग्राहीको पहुँचसम्म सहज विस्तारका लागि बैतडीको पुरचौडी हाटमा इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ । नौ महिनाअघि शाखा अधिकृतसहित छजना कर्मचारीको दरबन्दी स्वीकृत भए पनि पदपूर्ति हुन नसक्दा हाटमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुन सकेको थिएन ।
प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार जेठ मसान्तसम्म इलाका प्रशासन कार्यालय स्थापना हुने बताउनुभयो । “घरभाडाका लागि सूचना प्रकाशित गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको असार मसान्तसम्म कार्यालय सञ्चालनको तयारी गरेका छौँ ।”
असोज २१ मा गृह मन्त्रालयबाट एक अधिकृत, तीन नासु, एक सहलेखापाल र एकजना सहायक कम्प्युटर अपरेटरको दरबन्दी स्वीकृत भइसकेको छ । दुर्गम भन्दै इलाका प्रशासन कार्यालयका लागि अधिकृत आउन नमान्दा हालसम्म कार्यालय सञ्चालनमा आउन नसकेको हो । सदरमुकाम आउन डेढ दिन लाग्ने यो क्षेत्रमा इलाका कार्यालय स्थापना भए एक दर्जन गाविसका करिब ६० हजार बासिन्दा लाभान्वित हुनेछन् ।
यस्तै, जिल्लामा डेढ महिनादेखि सहायक प्रजिअ नहुँदा दैनिक कामकाज असहज भएको छ । सहायक प्रजिअ टेकसिंह कुँवरको काज फिर्ता भएपछि जिल्ला प्रशासन कार्यालयका दुईवटै शाखा अधिकृतको दरबन्दी रिक्त भएको छ । प्रजिअ एक्लै व्यस्त हुने भएकाले कामकाज गर्न असहज भएको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share