पाल्पाको समस्या सुल्झाउन दलका नेता मन्त्रालयमा
६ असार २०७३, सोमबार ११:३५पाल्पा, ६ असार । पाल्पाको विद्युत् र खानेपानीको समस्या सुल्झाउन दलका नेताहरु जुट्न थालेका छन् । यहाँका मन्त्री, सांसद र दलका नेताहरुले पाल्पाको विद्युत्, तानसेनको खानेपानी समस्या सुल्झाउन मन्त्रालयमा धाउने क्रम बढेको छ ।
उद्योगमन्त्रीको कक्षमा आइतबार उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री सोमप्रसाद पाण्डेय, खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह, सांसद राधाकृष्ण कँडेल, तुल्सा राना, विभिन्न दलका नेताले खानेपानी र विद्युत्को समस्याका बारेमा अवगत गराएका थिए।
तानसेन उपभोक्ता समिति मार्फत तानसेनमा खानेपानी वितरण गर्दा समस्या बढेको र आर्थिक समस्या पैदा भएकाले खानेपानीको जिम्मा सरकारले नै लिनुपर्नेमा समेत छलफल भएको दलका नेताहरुले बताएका छन् । तानसेन खानेपानी समितिले मासिक रु तीनदेखि रु पाँच लाखसम्म खानेपानीको महसुलबाट असुले गरे पनि मासिक खर्च रु १५ लाखसम्म हुँदा समिति समस्यामा परेको थियो ।
उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले बुटवलबाट पाल्पामा विद्युत् लगिएकामा अब एक डेढ महिनामा गल्याङबाट नै विद्युत् ल्याउन पहल थरिने बताए ।
साांसद रानाका अनुसार अर्थमन्त्री विष्णु पौडेलले पनि खानेपानी र विद्युत्लगायतका समस्या सुल्झाउन आवशयक बजेटको व्यवस्था गर्न सकारात्मक रहेको बताए । रासस