मङ्लबार, असार २१, २०७९

पाँचथरमा आठ स्थानीय तह रहने दुई खाका तयार

२१ कार्तिक २०७३, आईतवार १०:१८

पाँचथर, २१ कात्तिक । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समिति पाँचथर र जिल्लास्थित राजनीतिक दलले पाँचथर जिल्लामा आठओटा स्थानीय तह रहनेगरी भिन्नाभिन्नै दुई खाका स्थानीय तह पुनः संरचना आयोगमा पठाउने सहमति गरेका छन् ।

समिति र दलको छलफलबाट आठवटा स्थानीय तह रहेका दुई खाका आयोगमा पठाउने निर्णय भएको छ । दलबीच सहमति हुन नसक्दा दुई खाका आयोगमा पठाउन लागिएको हो ।

मुख्य दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गाउँपालिकाको सीमाका विषयमा सहमति नजुट्दा दुई खाका तयार भएको हो । यद्यपि आठ स्थानीय तह निर्माणका विषयमा भने नेताहरु शुक्रबारै सहमत भएका थिए । पुनः संरचनाको प्रस्तावित खाका नं १ मा दुई नगरपालिका र ६ गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । जहाँ ३३ हजार तीन सय १९ जनसङ्ख्या रहेको फिदिम नगरपालिका र ४० हजार एक सय ७८ जनसङ्ख्या रहेको फाल्गुनन्द नगरपालिका निर्माणको प्रस्ताव गरिएको छ ।

फिदिम नगरपालिकामा साबिकको नगरपालिका, उत्तरको रानीटार गाविसका नौवटा वडा र दक्षिणको लुम्फाबुङ गाविसलाई समेट्ने प्रस्ताव गरिएको छ । फिदिमबजार केन्द्र रहेको उक्त नगरपालिकामा हालको फिदिम नगरपालिकाभित्र ६, रानीटारमा दुई तथा लुम्फाबुङमा एक वडा रहने प्रस्ताव गरिएको छ ।

यस्तै प्रस्तावित फाल्गुनन्द नगरपालिकामा साबिकका नवमीडाँडा, इम्बुङ, पौवासारताप, चिलिङ्दिन, फाक्तेप, आङसराङ, यासोक, माङ्जाबुङ, रानीगाँउ र स्यावरुम्बालाई वडाका रुपमा राख्ने प्रस्ताव गरिएको जसको केन्द्र यासोक बजारलाई प्रस्ताव गरिएको छ । उक्त खाकाअनुसार उत्तरका च्याङथापू, फलैँचा, ओयाम, थर्पू र नागी गाविसलाई याङवरक गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । ६ वडा प्रस्ताव गरिएको उक्त गाउँपालिकाको केन्द्र थर्पू बजार र मान्द्रेनीलाई प्रस्ताव गरिएको छ । जसको जनसङ्ख्या १८ हजार दुई सय २८१ रहेको छ ।

अमरपुर, पञ्चमी, सुभाङ र भारपालाई मिलाई हिलिहाङ गाउँपालिका निर्माणको प्रस्ताव गरिएको छ । २२ हजार नौ सय १३ जनसङ्ख्या रहेको उक्त प्रस्तावित गाउँपालिकाको केन्द्र गोपेटारबजार रहने प्रस्ताव गरिएको छ भने उक्त गाउँपालिकामा सात वडा रहनेछन् ।

एकतीन, मेमेङ, प्राङबुङ र सिदिनलाई मिलाएर फालेलुङ गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ जसको केन्द्र मच्छेबुङ मेमेङमा राख्ने प्रस्ताव गरिएको छ । १८ हजार नौ सय तीन जनसङ्ख्या रहेको उक्त गाउँपालिकामा सात वडा रहने प्रस्ताव गरिएको छ ।

यस्तै याङनाम, नाङ्गिन, लुङरुपा र रानीटारको वडा नं. ९ रहेको १८ हजार आठ सय ६३ जनसङ्ख्या रहेको छिन्तापु गाउँपालिका निर्माणको प्रस्ताव गरिएको छ । नाङ्गिनको डेरीबजार केन्द्र प्रस्ताव गरिएको उक्त गाउँपालिकामा ६ वडा रहनेछन् ।

दक्षिणको आङ्ना, मौवा, वलने र हाङ्गुुम गाविसलाई मिलाई तुम्बेवा विशेष गाउँपालिकाको प्रस्ताव गरिएको छ । १३ हजार चार सय १९ जनसङ्ख्या रहेको पाँच वडा रहेको उक्त गाउँपालिकाको केन्द्र मौवाबजारलाई प्रस्ताव गरिएको छ ।

यस्तै सुदूर दक्षिणी सराङडाँडा, आरुबोटे, रबी, कुरुम्बा, लिम्बा र दुर्दिम्बा रहेको मिक्लाजोङ गाउँपालिकाको प्रस्ताव गरिएको छ । २४ हजार सात सय १५ जनसङ्ख्या रहेको उक्त गाउँपालिकामा आठ वडा रहने र केन्द्र रवीबजार रहने प्रस्ताव गरिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share