पहिरोले विद्यालय बन्द
६ असार २०७३, सोमबार १६:१६तम्घास (गुल्मी) , ६ असार । अविरल वर्षासँगै आएको पहिरोले विद्यालय पुरिँदा गुल्मीको एक विद्यालयको पठनपाठन बन्द भएको छ । पहिरोका कारण कक्षा सञ्चालन हुन नसकेपछि छापहिले गाविस–९ अन्तर्गत सिद्ध प्राथमिक विद्यालय बन्द भएको हो ।
गत पाँच पर्षअघि स्थापना गरिएकोे उक्त विद्यालय यही असार २ गते राति आएको पहिरोले पुरानो भवन र निर्माणाधीन नयाँ भवनसमेत पुरिँदा विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेका कारण विद्यालय बन्द गर्नुको विकल्प नरहेको विद्यालयकी प्रधानाध्यापक निमा गिरीले बताइन् ।
कक्षा १ देखि ३ सम्म पढाइ हुने सो विद्यालयमा ११६ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । पहिरोको थप जोखिमसमेत भएकाले तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था नरहेपछि विद्यार्थीलाई केही दिनका लागि बिदा दिएको गिरीले जानकारी दिइन् ।
जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको भन्दै चाँडै नै पठनपाठन सुरु गर्ने बताए । रासस