पहिरामा पुरिएका तीनको सकुशल उद्धार
२४ जेष्ठ २०७३, सोमबार १७:४१मुगु, २४ जेठ । घर बनाउने क्रममा माथिबाट आएको पहिरामा पुरिएका तीन जना कामदारको सकुशल उद्धार गरिएको छ ।
सदरमुकाम गमगढीस्थित नयाँ रोडमा रोवा–६ र्याङ्चेकाटी गाउँका वसन्त कुमाईंको साेमबार मध्याह्न १२ बजे नयाँ घरको जग काट्दै गर्दा घर माथिबाट पहिरो आउँदा जग काटिरहेका तीन जना पुरिएका थिए । तत्कालै घटनास्थलमा पुगेका स्थानीयवासी तथा नेपाल प्रहरीले माटो हटाएपछि उनीहरुको सकुशल उद्धार गरेकाे हो । पुरिएका कार्कीवाडा–४ का २७ वर्षीय ललितजङ्ग रोकाया र सोही ठाउँका ३० वर्षीय मीमबहादुर सेजुवालको २० मिनेटमै उद्धार भए पनि १८ वर्षीय कालीबहादुर विकको खुट्टामा ढुङ्गाले च्याप्दा उनलाई उद्धार गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
एक घन्टा लगाएर विकको उद्धार गरिएको थियो । उनको खुट्टामा सामान्य चोट लागेको छ । तीनै जनालाई जिल्ला अस्पतालमा उपचार गरिएको छ । तीनै जनाको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ । रासस