शुक्रबार, कार्तिक ५, २०७८

पर्वतमा पुनःसंरचनाको टुङ्गो लाग्यो

२९ भाद्र २०७३, बुधबार ०७:५५

फलेवास (पर्वत), २९ भदौ । लामो समयदेखि सहमति जुट्न नसकेको पर्वतको स्थानीय निकाय पुनःसंरचना कार्य स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले टुङ्गो लगाएको छ । राजनीतिक दलका प्रतिनिधिको आ–आफ्नै अडानका कारण निचोडमा पुग्न नसकेको पुनःसंरचना कार्य सोमबार अबेर राति टुङ्गिएको हो ।

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी युवराज पौडेलसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि कुश्मा बजारको होटल बेञ्जुमा बसेर टुङ्गोमा पु¥याएका हुन् । गत बुधबारदेखि चलेको निरन्तर छलफल र अन्तरक्रियाबाट समेत स्थानीय निकाय पुनःसंरचनाको टुङ्गो लगाउन नसकेका दल सोमवार अबेर सहमतिमा आएपछि पुनःसंचनाको टुङ्गो लागेको हो ।

सहमतिअनुसार समितिले जिल्लाभर एक नगरपालिका र ६ गाउँपालिकाको प्रस्ताव आयोगमा पठाउने भएको छ । पर्वतका ५५ गाविसमध्ये आठ गाविस मिलेर बनेको कुश्मा नगरपालिकामा खौलालाँकुरी, आर्थर डाँडाखर्क र ठुलीपोखरी गाविसलाई थप गरी कुश्मा नगरपालिका कायम गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, नाग्लिवाङ केन्द्र रहनेगरी बाँसखर्क, माझफाँट, लेखफाँट, शालिजा, धाइरिङ, बनौ गाविसको एउटा गाउँपालिका प्रस्ताव गरिएको छ भने क्याङ, बाजुङ, देउराली, भुकताङ्ले, देउपुर, तिलाहार, चित्रे, राम्जाठाँटीको अर्को गाउँपालिकाको रुपमा प्रस्ताव गरेको छ ।

त्यसैगरी, कार्किनेटा, थापाठाना, शङ्करपोखरी, मुडीकुवा, भङ्गरा, लिमिठाना, ठानामौला खानीगाउँ र देविस्थान गाविसलाई खानीगाउँ केन्द्र रहने गरी गाउँपालिका प्रस्ताव गरिएको छ ।

जिल्लाका दक्षिणी गाविस फलामखानी, लुङ्खु, पाखापानी, बालाकोट, भोकसिङ, होश्राङ्दी र कुर्घा गाविसलाई लुङ्खुदेउराली केन्द्र रहने गरी गाउँपालिका सिफारिस गरिएको छ भने हुवास गाविस केन्द्र रहने गरी टकलाक, त्रिवेणी, बेहुलीबास, सरौखोला र भोर्ले गाविसलाई पनि गाउँपालिका सिफारिसका लागि प्रस्ताव गरिएको छ ।

त्यस्तै, रानीपानी गाविस केन्द्र रहनेगरी पाङराङ, बाच्छा, बर्राचौर, वहाकी, उराम र शालिग्राम गाविसलाई समेत गाउँपालिका सिफारिस गरिएको छ । आयोगले ६ वटा स्थानीय निकाय बनाउन परिपत्र गरेको भएपनि स्थानीय राजनीतिक दलको सहमतिमा सातवटा सिफारिस गरेर पठाइसकिएको स्थानीय विकास अधिकारी पौडेलले जानकारी दिए।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share