सोमवार, मंसिर २०, २०७८

पर्यटन भिजन छाडेर नयाँ अभियान

२७ बैशाख २०७३, सोमबार ०७:०३

Vision_2020_136739897काठमाडौं: सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न ल्याएको सन् २०२० सम्मको पर्यटन भिजन लत्याउँदै पुनः नयाँ अभियान घोषणा गरेको छ। सरकारले सन् २०२० मा मनाउने भनेको आन्तरिक भ्रमण वर्षलाई सन् २०१६ मा नै मनाउन सुरु गरेको छ।  सन् २०२० सम्ममा वार्षिक १० लाख पर्यटक ल्याउने अभियान पूरा नगर्दै सन् २०२५ सम्ममा वार्षिक २५ लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अगाडि सारेको छ। सरकारले दसवर्षे राष्ट्रिय रणनीतिक पर्यटन योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ। यो योजना सन् २०१६ देखि २०२५ सम्मको हो। यो रणनीतिमा आगामी १० वर्षभित्रमा नेपालमा वार्षिक २५ लाख पर्यटक भित्याउने क्षमता बनाइने उल्लेख छ।
सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७३÷७४ को नीति तथा कार्यक्रमले पनि १० लाख विदेशी पर्यटक भित्याउने लक्ष्यसहित सन् २०१८ लाइ नै नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको छ। यसअघि सन् २०११ मा मनाइएको पर्यटन वर्ष भने पूर्वाधार र अन्तर्राष्ट्रिय प्रवद्र्धन नहुँदा लक्षित १० लाख पर्यटकमा आठ लाखमात्रै पुगेका कारण यसलाई आंशिक सफल मानिएको थियो। वार्षिक १० लाख पर्यटक नपुगेपछि सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष मनाएको थियो।
२०१३ देखि हरेक वर्ष सन् २०२० सम्मका लागि पर्यटन अभियान वर्ष मनाउने घोषणा पनि गरेको थियो। तर, सन् २०१६ मा आइपुग्दासम्म कुनै पनि अभियानलाई सरकारले सार्थक बनाउन भने सकेन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार सरकारले ल्याएको पर्यटन रणनीतिअनुसार पूर्वाधार बनाएरै सन् २०२५ सम्ममा हरेक वर्ष २५ लाख पर्यटक आउने भएका छन् आर्थिक विकासको मेरुदण्ड मानेकोले नै पर्यटनमा अब सम्भावना बढेको छ।
यसअघिका पर्यटन अभियान वर्षहरू विभिन्न राजनीतिक कारण, पूर्वाधारको कमी र गत वर्षको भूकम्पले पनि पूरा गर्न नसकिएको हो। गत वर्षको भूकम्पपछि पर्यटनलाई नयाँ भिजनबाट अगाडि बढाउनुपर्ने भएकोले नै सन् २०१६ लाख आन्तरिक भ्रमण वर्ष मनाउन सुरु गरिएको हो। आगामी सन् २०१८ लाई अन्तर्राष्ट्रिय भ्रमण वर्ष मनाउने घोषणा गरेको पनि उपाध्यायको बुझाइ छ। नीति तथा कार्यक्रममा सातैवटा प्रदेशमा कम्तीमा एक प्रमुख स्थललाई केन्द्रविन्दु मानेर पर्यटकीय क्षेत्र र गन्तव्यको विकास गरिने उल्लेख छ। प्रत्येक प्रदेशमा एक प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ।

२० लाख पर्यटक भित्याउने योजना अलपत्र
सन् २०२० सम्ममा वार्षिक २० लाख पर्यटक भित्याउने लक्ष्यका साथ ल्याइएको पर्यटन भिजन २०२० अलपत्र परेको छ। सन् २०११ मा १० लाख पर्यटक भित्याउने सरकारी लक्ष्य पूरा नहुँदै सार्वजनिक भएको ‘पर्यटन भिजन २०२०’ घोषणा भएको वर्षदेखि नै छायामा पर्दै आएको थियो।
सरकारले सन् २०११ मा मनाएको पर्यटन वर्ष, सन् २०१२ मा लुम्बिनी भ्रमण वर्ष मनाइएको थियो। सन् २०१३ मे २९ देखि मनाएको एक वर्षको लागि सगरमाथा हीरक महोत्सव वर्ष पनि सफल हुन सकेन। मेला र महोत्सवमार्फत पर्यटकीय गतिविधि बढाउन सरकारले सन् २०१३ देखि सन् २०२० सम्मलाई पर्यटन दशकका रूपमा मनाउने भनेर ल्याएका सबै कार्यक्रम प्रभावहिन भएका छन्।
नेपाल भ्रमण वर्ष १९९८ को सफलतापछि निरन्तर पर्यटन प्रवद्र्धनका निम्ति सरकारले पर्यटन दशक योजना ल्याएको भए पनि सरकारी प्राथमिकतामा नै नपरेका कारण अलपत्र परेको पर्यटन मन्त्रालयकै अधिकारी बताउँछन्। पर्यटन प्रवद्र्धनात्मक अभियान आवश्यक भएकाले सरकारले निजी क्षेत्रका व्यवसायीलाई उत्साहित बनाइरहन यस्तो कार्यक्रम ल्याएको भए पनि अहिले प्रवद्र्धन र सरकारी चासो नहुँदा भिजन २०२० अलपत्र परेको हो।
सरकारले अहिले तयार पारेको पर्यटन रणनीतिमै पर्यटन भिजनका योजना र उद्देश्य समेटेको दाबी पर्यटन मन्त्रालयको छ। भिजन २०२० निकै राम्रो योजना भए पनि समन्वयका अभावका कारण गुमनाम रहेको नेपाल पर्यटन बोर्डको भनाइ छ। त्यसभित्रका कार्यक्रमलाई अगाडि बढाउन आवश्यक निर्देशन नभएको बोर्डको बुझाइ छ। पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्र र सरकार दुवैबाट अख्तियारी पाएको नेपाल पर्यटन बोर्डले भिजन २०२० लाई महत्व नदिएको कारण पनि यो अभियान ओझेलमा परेको निजी क्षेत्रका पर्यटन व्यवसायीको आरोप छ। घोषित भिजन २०२० को लक्ष्य पूरा गर्न सरकारी क्षेत्र तयार नरहनुले पनि २० लाख पर्यटक भित्याउनु चुनौतीपूर्ण भएको बोर्डकै एक अधिकारीको बुझाइ छ।
घोषणामै सीमित पर्यटन दशक
सरकारले देशैभर पर्यटन प्रवद्र्धनका निम्ति सन् २०१३ देखि २०२० सम्म पर्यटन अभियान वर्ष घोषण गरी पर्यटन दशक मनाउने निर्णय गरेको भए पनि यसलाई कार्यान्वनमा लैजान नसक्दा घोषणामा सीमित हुन पुगेको छ। सन् २०१३ देखि हरेक वर्ष पर्यटन प्रवद्र्धनका कार्यक्रम घोषणा गरिएको भए पनि यसलाई प्रभावकारी बनाउन भने सकेन।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share